• १६ असार २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डसँग रासस अध्यक्ष झासहितको टोलीको भेट

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्तापछि राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईलगायत । तस्बिर : रासस

काठमाडौं, पुस २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईसहित राष्ट्रिय समाचार समिति (रासस) को टोलीले भेट गरी सेवा प्रवाह र संस्थागत विकासका लागि भइरहेका प्रयासबारे जानकारी गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार)भएको भेटमा प्रधानमन्त्री प्रचण्डले रासस राज्यको समाचार समिति भएकाले यसको विकास र सुधारका लागि सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राससले पछिल्ला दिनमा राम्रो काम गरिरहेको जानकारी पाएको छु, सुधार र विकासका लागि सहयोग गर्न सरकार तयार छ ।”

यसअघि अध्यक्ष झाले प्रधानमन्त्री दाहाललाई कार्यकालको सफलताका लागि बधाई ज्ञापन गर्दै राज्यको महत्त्वपूर्ण सञ्चारमाध्यम भएकाले सरकारको नीति निर्देशनअनुरूप अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राससको विकास र विस्तारका लागि सरकारबाट हुने जुनसुकै आवश्यक निर्देशन कार्यान्वयनमा हामी तयार छौँ ।”

टोलीमा प्रशासन प्रमुख शीतलप्रसाद महतो सहभागी हुनुहुन्थ्यो । देशको एकमात्र समाचार समितिको रूपमा राससले नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय, फोटो, श्रव्यदृश्य (भिजुअल), श्रव्य सेवासहितका समाचार सामग्री छापा, प्रसारण र अनलाइनलगायतका आमसञ्चार माध्यमलाई प्रदान गरिरहेको छ ।