• १३ असोज २०८१, आइतबार

सरकारलाई समर्थन गर्न आग्रह

blog

काठमाडौँ, पुस २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भेट गर्नुभएको छ। प्रधानमन्त्रीको निम्तापछि खतिवडाले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेट गर्नुभएको हो। 

प्रधानमन्त्रीसँग वर्तमान समसामयिक राजनीतिक विषयमा कुराकानी भएको खतिवडाले बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गर्न र विश्वासको मत दिन आग्रहसमेत गर्नुभएको थियो। 

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार कुन रूपमा अघि बढ्छ त्यसको विश्लेषण गरेर मात्रै विश्वासको मतबारे निर्णय लिने बताउनुभएको छ। उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यक्तिगत रूपमा आफू सकारात्मक रहेको स्पष्ट पार्नुभयो। 

एमालेसँग पार्टी एकता गर्ने विषयमा आफूलाई कसैले केही नभनेको बताउँदै उहाँले व्यक्तिगत भावना राख्नेको बेग्लै कुरा भएको जानकारी दिनुभयो। उहाँले आफूप्रति सद्भाव राख्नेहरू सबैलाई धन्यवाद छ भन्दै त्यो भावना निजात्मक भइदियो भने त्यसको कुनै अर्थ नहुने दाबी गर्नुभयो। 

एकीकृत समाजवादी पार्टी कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा अगाडि बढ्ने उहाँले बताउनुभयो। जनता समाजवादी पार्टीसँग तत्काल एकता प्रक्रिया सुरु हुने भन्दै उहाँले साना वामपन्थी दलसँग एकता र सहकार्यका लागि अघि बढ्ने बताउनुभयो। 

“अब हामी पार्टी निर्माण गर्ने अभियानमा जुट्ने, पार्टीलाई सुदृढ गर्ने र विस्तार गर्ने राष्ट्रव्यापी अभियान लिएर अघि बढ्छौँ,” उहाँले भन्नुभयो। आफ्नो पार्टीको ध्यान जनता र राष्ट्रका आवश्यकता उठान गर्ने कुरामा केन्द्रित हुने उहाँले बताउनुभयो।