• १० मंसिर २०८१, सोमबार

ठगी आरोपमा छ जना पक्राउ

blog

काठमाडौँ, पुस २३ गते । विभिन्न नाममा नेपाली तथा विदेशी नागरिकलाई समेत ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अछाम घर भई हाल काठमाडौँको चाबहिलमा बस्दै आएका पृथ्वीबहादुर शाह, अछाम घर भई चाबहिलमै बस्दै आएका विजयविक्रम शाह, जाजरकोट घर भई चाबहिल बस्दै आएका चक्रबहादुर खत्री, दोलखा घर भई बूढानीलकण्ठ बस्दै आएका अनुप खड्का, नवलपरासी (पश्चिम) घर भई बूढानीलकण्ठ बस्दै आएका रुकमाङ्गत काफ्ले र अछाम घर भई चन्द्रागिरि बस्दै आएका रङ्गबहादुर साउद रहेका छन्।

उनीहरूलाई सिफल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो। विभिन्न नाममा १२ वटाभन्दा बढी कम्पनी खडा गरी शङ्कास्पद कारोबार गर्दै आएको पत्ता लागेपछि ठगी गरेको आशङ्कामा प्रहरीले उनीहरूको खोजी कार्य गरेको थियो। ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले पक्राउ परेकाहरूले दर्ता नगरी खडा गरेका विभिन्न कम्पनीबाट अवैध कारोबार गर्ने गरेको बताउनुभयो।

ब्युरोका अनुसार आरोपितहरूले बेइमानीपूर्वक करिब ४६ लाख ४६ हजार अमेरिकी डलर, करिब १२ हजार पाउन्डस्टर्लिङ र करिब तीन करोड २२ लाख नेपाली रुपियाँ प्राप्त गरेका थिए।