गोरखापत्र अनलाइन
काठमाडौं, पुस २२ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीसहित नेताहरुसँग आन्तरिक छलफल गर्नुभएको छ । पार्टीको आन्तरिक कामकाजलाई चुस्त बनाउन तथा पार्टीले चाल्नुपर्ने आगामी कदम प्रभावकारी बनाउने विषयमा उहाँहरुबीच छलफल भएको हो ।
सभापति देउवा निवास धुम्बाराहीमा आज शुक्रबार बसेको बैठकमा भोलि शनिबार बस्न लागेको कांग्रेसको संसदीय दलको बैठक, पुस २५ गते सुरु हुने संसद अधिवेशन लगायतका विषयमा छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै शर्माले भन्नुभयो, “दलको सभापतिले, भेटघाट गर्ने, सहमति हुने सामान्यतया सामान्य विषय नै हो । गठबन्धनको नेतृत्वमा सरकार रहनुपर्छ भन्ने निरन्तर सल्लाह रहनुपर्छ भन्ने तर अन्तिम चरणमा गम्भीरता पुगेन, त्यो क्षति बेहोरिसक्यौं । फेरि नयाँ ढङ्गले जानपर्छ ।”
अन्तिम समयमा सावधानी नपुगेको सन्दर्भमा आत्मालोचित हुने कुरा एक ठाउँमा भए पनि यसको दोष नेतृत्व वा कसैलाई लगाउन नमिल्ने उहाँले बताउनुभयो ।
“२५ गते संसद अधिवेशन सुरु हुँदैछ । भोलि संसदीय दलको बैठक छ । सभापतिलाई दृष्टिकोण राख्यौं । आग्रह राखेर भन्ने कुराभन्दा एकताबद्व भएर जाने, ज–जसको जे जे कमजोरी छ, त्यो आन्तरिक रुपमा हामी प्रवेश गर्छौं” उहाँले भन्नुभयो ।
कांग्रेसले कुनै राजनीतिक दलको नेतामा प्रधानमन्त्रीमा प्रस्ताव गरेको भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “नजाने गाउँको बाटो नसोध्नु । त्यो विल्कूल हल्ला हो । कसैलाई प्रधनमनत्री पदमा प्रस्ताव गरेरभन्दा जिम्मेवार र शालीन ढङ्गले नेतृत्व गर्न छोडेर कांग्रेसले त्यसो गर्दैन ।” अहिलेको गठबन्धन भत्काउन कांग्रेस नलागेको उहाँले बताउनुभयो ।