काठमाडौं, पुस २२ गते। सरकारको न्यूनत साझा कार्यक्रम तय गर्न बनेको कार्यदलले निर्माण गरेको मस्यौदा शीर्ष नेता समक्ष पेश हुने भएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार बिहान सिंहदरबारमा बसेको कार्यदलको बैठकले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा एवम् प्रतिवेदन शीर्ष नेतालाई पेश गर्ने निर्णय भएको कार्यदलका सदस्य मुकुल ढकालले जानकारी दिनुभयो।
सञ्चारकर्मीसँग कुरा गर्नुहुदै उहाँले भन्नुभयो, “सत्ता सहयात्री दलले मस्यौदा, प्रतिवेदन तयार पारेको छ। शीर्षस्थ नेताबाट पारित भएपछि सार्वजनिक हुनेछ।” सरकारको साझा कार्यक्रममा सुशासन सम्बन्धी एजेण्डा, जनतामा प्रत्यक्ष रुपमा परिवर्तनको आभाष दिलाउने एवम् विकासको अनुभूति दिने विषयलाई मुख्यरुपमा समेटेको उहाँको भनाइ छ।
“उच्चस्तरीय शीर्षस्थ नेतामा पेश हुने भएकोले भोलि सार्वजनिक हुनेछ। प्रत्येक क्षेत्रलाई समेट्ने गरी, सबै दलको कुरा एवम् एकदम खुसी बनाउने गरी आउछ”, ढकालले भन्नुभयो। अहिले यसखाले कामकारबाही प्रभावकारी रुपमा अघि बढाउन नेतृत्वबाट निर्देशन जारी भइरहेको र केही समयपछि यी काम भए, नभएको अनुगमन हुने उहाँले बताउनुभयो।
अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन, जनता समाजवादी पार्टीक रकम चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीक मुकुल ढकाल सदस्य हुनुहुन्छ।