• ११ मंसिर २०८१, मङ्गलबार

मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घको सहयोग

blog

संयुक्त राष्ट्रसङ्घ, पुस २१ गते । मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घले ती नागरिकका लागि ७० लाख अमेरिकी डलर सहयोग गरिएको जनाएको हो । संयुक्त राष्ट्रसङ्घीय आपतकालीन कोषबाट मालीमा हालैका दिनमा समस्यामा परेका नागरिकको सहयोगका लागि सो रकम उपलब्ध गराइएकाे बताइएको छ ।

खासगरी मालीको उत्तरी क्षेत्रका नागरिक असुरक्षाका साथै अन्य समस्यामा परेका बताइएको छ । यहाँका कम्तीमा पनि चार लाख २३ हजार जना नागरिक यसरी प्रभावित भएका पनि बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले सो क्षेत्रमा विभिन्न समस्यामा परेका नागरिकको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय आपतकालीन कोषबाट हालका लागि ७० लाख अमेरिकी डलर बराबरको रकम निकासा गरिएको बताउनुभएको हो ।

साथै, यस वर्षमात्र सो क्षेत्रमा ६० लाखभन्दा पनि बढी मानिस प्रभावित हुने भएकाले उनीहरुका लागि ठूलो रकम आवश्यक पर्ने पनि बताउनुभयो । मालीमा लामो समयदेखि द्वन्द्व जारी छ । यसका कारण यहाँका दशौँ लाख नागरिक प्रभावित भएका छन् । उनीहरुको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले समयसमयमा सहयोग गर्दै आएको छ । रासस/सिन्ह्वा