प्रेमराज सिम्खडा
कालीकोट पुस २० गते । कालीकोटमा चिसो निकै बढेको छ । चिसोका कारण केही स्थानीय तहका विद्यालय समेत बन्द भएका छन् । आउजाउ गर्न समेत कठिन भइरहेको छ । रास्कोट नगरपालिका –८ का सुना सुवेदी घरबाट सदरमुकाम मान्म आउँदा पाँचदेखि सात ठाउँसम्म आगोको साहारा लिनुपरेको बताउनुभयो ।
दिनमा घाम लागेको छ, तर हावा पनि उतिकै चलेकाले चिसो हुँदा गाडी रोकेर यात्रुले आगो ताप्ने गरेको उहाँले सुनाउनुभयो । चिसोका कारणले जिल्लाका तिलागुफा नगरपालिका भित्रका सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द भएका छन् । कोरोना पछि जिल्लाभरि एक शैक्षिकसत्र अर्थात् वर्षातको समयमा मात्र बिदा गर्ने पालिकाहरूले निर्णय गरे पनि चिसोका कारणले तिलागुफा नगरपालिकाले हिउँदे बिदालाई निरन्तरता दिनुपरेको बताएको छ ।
नगरपालिका शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक नवीन हमालले जुम्लासँग सीमा जोडिएको र यो समयमा बग्ने पानी समेत जम्न थालेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको बताउनुभयो ।
कालीकोटमा तापक्रम माइनस ५ रहेको छ । अत्यधिक चिसो बढेकाले जिल्ला प्रशासन कार्यालयले समेत सचेत हुन सार्वजनिक सूचना गरेको छ । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले चिसो देशभरि बढिरहेकाले सूचनाअनुसार जिल्लामा पनि सचेत हुन सूचना जारी गरिएको बताउनुभयो ।
पुस महिना जान लाग्दा समेत पानी नपरेकाले झन् चिसो बढेको स्थानीयको भनाइ छ । खाँडाचक्र नगरपालिका वडा ३ का भक्ती पाण्डेले पानी मात्र होइन हिमपात भएर मौसम सफा हुने बित्तिकै तातो हुने बताउनुभयो । उहाँले पानी नपर्दा हुस्सु लाग्ने र हावा पनि उस्तै चल्ने भएकाले अनुमानभन्दा बढी चिसो हुनेगरेको सुनाउनुभयो ।