• २३ असार २०८१, आइतबार

लिभरपुललाई ब्रेन्टफर्डको धक्का

blog

इङ्लिस प्रियिमर लिगमा प्रतिस्पर्धा गर्दै लिभरपुल र ब्रेन्टफर्डका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, पुस १९ गते । इङ्लिस प्रियिमर लिग फुटबलको चर्चित टोली लिभरपुललाई ब्रेन्टफर्डको नमिठो धक्का लागेको छ । सोमबार राति भएको खेलमा लिभरपुल ब्रेन्टफर्डसँग उसैको मैदानमा ३–१ गोलले पराजित भयो ।

ब्रेन्टफर्डको जितमा योइन विसा र ब्रायन मविउमोले गोल गर्नुभयो । ब्रेन्टफर्डले अर्को गोल लिभरपुलका इब्राहिम कोनाटबाट आत्मघाती उपहार पाएको थियो । लिभरपुलका एलेक्स अक्सलेड चेम्वरलेनले सान्त्वना गोल फर्काउनुभयो ।

ब्रेन्टफर्डले १९औँ मिनेटमा आत्मघाती गोल सहयोगमा खाता खोलेको थियो । कर्नरबाट आएको बल बचाउने क्रममा लिभरपुलका इब्राहिमको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । ४२औँ मिनेटमा योइन विसाले गोल गर्दै ब्रेन्टफर्डको अग्रता दोब्बर बनाउनुभयो ।

५०औँ मिनेटमा चेम्वरलेनले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर, ८४औँ मिनेटमा ब्रायन मविउमोले गोल गर्दै ब्रेन्टफर्डलाई सजिलै जिताउनुभयो । जितसँगै १८ खेलबाट २६ अङ्क बनाएको ब्रेन्टफर्ड सातौँ स्थानमा उक्लिएको छ ।

पराजित लिभरपुल २८ अङ्कसहित छैटौँ स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलको ४३ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३६ अङ्क छ । आर्सनल र सिटीले समान १६ खेल सकेका छन् । एजेन्सी