• २७ फागुन २०८१, मङ्गलबार

तेक्वान्दो विवाद : निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह

blog

पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै नेपाल तेक्वान्दो महासङ्घका पदाधिकारी । तस्बिर : गोरखापत्र

काठमाडौं, पुस १५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित नेपाल तेक्वान्दो महासङ्घले नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीलाई महासङ्घमा आबद्ध भएर समस्याको समाधान निकाल्न आग्रह गरेको छ ।

महासङ्घले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासङ्घले एउटै प्रकृतिका सङ्घहरु मिलेर तेक्वान्दो खेलको विकासका लागि निर्वाचनमा जानुको विकल्प नरहेको पनि जनाएको छ । राखेपले अस्तित्वमा रहेको नेपाल तेक्वान्दो सङ्घ र राष्ट्रिय तेक्वान्दो सङ्घलाई पुस ५ गते विघटन गरी महासङ्घको गठन गरेको थियो ।

राखेपले महासङ्घलाई तीन महिनाभित्र निर्वाचन गर्न निर्देशन पनि दिएको छ । नेपाल तेक्वान्दो सङ्घले भने राखेपले कानूनविपरीत सङ्घ विघटन गरेको भन्दै सर्वोच्च अदालतमा रिट दिएको छ । अदालतले रिट उपर अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्ष (सङ्घ र महासङ्घ) लाई पुस २० गते बेलाएको छ । 

राखेपद्वारा गठिन महासङ्घका अध्यक्ष प्रदीप जोशीले नेपाली तेक्वान्दोको हितका लागि  विश्व तेक्वान्दो महासङ्घले पनि समस्याको गाँठो फुकाउने बताउनुभयो । ‘‘अहिले तेक्वान्दो विवाद अदालतमा छ । अदालतको निर्णयलाई हामी स्वागत गर्नेछौं । नेपाली तेक्वान्दोमा देखिएको नराम्रो पक्षलाई विश्व तेक्वान्दो महासङ्घले पनि बुझेर हल गर्ने विश्वास लिएका छौं,’’ जोशीले भन्नुभयो । महासंघका महासचिव इन्द्रमान तुलाधरले सबै पक्ष मिलेर निर्वाचनमा गएपछि तेक्वान्दोको समस्या स्वत: हल हुने बताउनुभयो । 

राखेपले विघटन गरेको नेपाल तेक्वान्दो सङ्घको अध्यक्षमा प्रकाश शमशेर राणा र महासचिवमा दीपराज गुरुङ हुनुहुन्छ । राणा अध्यक्ष रहेको नेपाल तेक्वान्दो सङ्घ तेक्वान्दो खेलको पुरानो सङ्घ हो । राखेपले २०६८ सालमा युवराज लामा सदस्य सचिव भएको बेला तेक्वान्दोको छुट्टै राष्ट्रिय तेक्वान्दो सङ्घ, नेपाल संस्था दर्ता गरेपछि तेक्वान्दो खेलमा विवाद हुँदै आएको छ ।