विष्णुप्रसाद पोखरेल
दमक, पुस १५ गते । पूर्वी नेपालको दमकको भुटानी शरणार्थी शिविर बेलडाँगीमा भुटानी शरणार्थी सङ्ग्रहालय बनाउनुपर्नेमा स्थानीयले जोड दिन थालेका छन्। शिविरमा शरणार्थीहरू पुनर्बास भएर शिविर खाली भएसँगै यस क्षेत्रमा सङ्ग्रहालय बनाउनका लागि माग गरे पनि यो कामअघि बढ्न सकेको थिएन।
दमक नगरपालिकाकी पूर्वउपप्रमुख गीता अधिकारीका अनुसार दमक नगरपालिकाको नीति तथा कार्यक्रम बनाउँदा बारम्बार यस विषयमा छलफल भएको थियो। उहाँका अनुसार छलफल र योजनाअघि सारिएको भए तापनि त्यसले मुर्त रूपमा लिन सकेको छैन। सङ्ग्रहालय निर्माण भएमा दमकको पर्यटन र आर्थिक विकासमा यसले टेवा पुग्ने उहाँ बताउनुहुन्छ।
झापा र मोरङका सातवटा शरणार्थी शिविरमा एक लाखभन्दा बढी भुटानी शरणार्थीको बसोबास रहेकोमा अधिकांश अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडालगायतका मुलकमा पुनर्बास भएका छन्। दमकमा रहेको बेलडाँगी शरणार्थी शिविर सबैभन्दा बढी शरणार्थी रहेको शिविर रहेको थियो।
अहिले मोरङको पथरी र दमकमा धेरैको सङ्ख्यामा शरणार्थी रहेका छन्। हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा रहेको शिविरलाई सङ्ग्रहालय बनाउनका लागि एक पटक सरकारबाट बजेटसमेत विनियोजन भए पनि काम नहुँदा बजेट फिर्ता गएको बताइएको छ। कानुनी अड्चनलगायतका समस्याका कारण कामअघि नबढेको पनि जनाइएको छ।
वडा नं. २ का वडाध्यक्ष प्रजापती सापकोटाका अनुसार भुटानीको जीवन शैलीदेखि उनीहरूको इतिहास जिवित राख्न भुटानी समुदाय, सरकार र सामुदायिक वन मिलेर सङ्ग्रहालय बनाउने विषयमा बारम्बार छलफल हुँदै आएको छ। “रातो किताबमा नै सङ्ग्रहालय बनाउने योजना परेको थियो तर कामअघि बढेन”, सापकोटाले भन्नुभयो।
शिविर रहेको हम्सेदुम्से सामुदायिक वनका अध्यक्ष चन्द्रप्रसाद गुरागाईंका अनुसार वन क्षेत्र संरक्षणसहित कानुनी प्रक्रिया पु-याएर सङ्ग्रहालय बनाउन यस क्षेत्रको पहिचान नै थपिने बताउनुभयो। विभिन्न विकसित मुलुुकमा पुगेका शरणार्थी आफ्नो पुरानो थातथलो हेर्ने आँउदामात्र पनि यहाँको पर्यटनसँगै आर्थिक विकासमा टेवा पुग्ने आफूहरूलाई पनि लागेको उहाँको भनाइ छ।
करिब एक लाख १५ हजार भुटानी शरणार्थीमध्ये अहिले पुर्नबास भएर शिविरमा करिब छ हजारमात्र शरणार्थी रहेका छन्। “एउटा इतिहासलाई संरक्षित गर्नका साथै आन्तरिक तथा बाह्य पर्यटन विकासका लागि सङ्ग्रहालय आवश्यक रहेको हाम्रो ठम्याइ हो”, दमकका सामाजिक तथा राजनीतिक अगुवा गगन पुरीले भन्नुभयो। सङ्ग्रहालय बनाउने स्थानलाई सुनिश्चित गरेर कानुनी मापदण्ड पूरा गरी विस्तृत योजना प्रतिवेदन तयार पारेर अघि बढ्न सकिने उहाँको सुझाव छ।
दमक उद्योग वाणिज्य सङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष विमल खतिवडाले यहाँ रहेका अधिकांश भुटानी शरणार्थी अहिले विकसित मुलुकमा गएर राम्रो आम्दानी गरेको जनाउँदै साझेदारीमा नमुना सङ्ग्रहालय बनाएर पर्यटकीय विकास गर्न सकिने बताउनुभयो। दमकको आर्थिक विकासमा यसले सहयोग पुग्छ, उहाँले भन्नुभयो।