• २३ असार २०८१, आइतबार

थिङ्लाबुमा तीन घर जलेर नष्ट

blog

फाइल तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –१ थिङ्लाबुमा आगलागीबाट तीन घर जलेर नष्ट भएको छ । बुधबार भएको आगलागीबाट थिङ्लाबु थुङ्थापका बलबहादुर लिम्बू, बिरध्वोज लिम्बू र भक्तबहादुर लिम्बूको घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बलबहादुर लिम्बूको भान्सा घरबाट सुरु भएको आगोले तीन घर जलेर नष्ट भएको हो । सो आगलागीबाट ७५ लाख रुपियाँ बराबरको क्षति भएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

सो गाउँपालिकास्थित सान्थाक्रा प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले सङ्कलन गरेको विवरणअनुसार आगलागीबाट सबैभन्दा बढी बलबहादुरको ४० लाख रुपियाँ बराबरको क्षति भएको बताइएको छ । बलबहादुरको घरभित्र भएको नगद ५० हजार रुपियाँ, खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा सहितका सामग्री तथा तीन सय ६० केजी अलैँची जलेको छ । 

यस्तै, आगलागीबाट भक्तबहादुरको २५ लाख रुपियाँ र वीरध्वज लिम्बूको १० लाख रुपियाँ बराबरको क्षति भएको छ । उहाँहरु दुवै जनाको घरभित्र रहेको अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायत घरायसी सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।