खलङ्गा समाचारदाता
जाजरकोट, पुस १३ गते । जाजरकोट खण्डअन्तर्गतको मध्यपहाडी लोकमार्गमा गरिएको कालोपत्रे एक वर्ष नबित्दै खाल्टाखुल्टी परेका छन्। भेरी नगरपालिका–१३, कुदु जगतीपुर सडकखण्डमा कालोपत्रे उप्किएको हो। २०७६ सालदेखि शर्मा एन्ड सिंह ब्रदर्स जेबी काठमाडौँले कालोपत्रेको काम सुरु गरेको थियो। निर्माण कम्पनीको लापरबाही र सम्झौताअनुसार काम नहुँदा सडक जीर्ण बन्दै गएको बताइन्छ। नेपाल सरकारसँग गरेको सम्झौताअनुसार निर्माण सामग्री प्रयोग नगर्दा र यसमा सरोकारवाला निकायले अनुगमन निरीक्षण नगर्दा समस्या आएको भेरी नगरपालिका–१२ का यज्ञबहादुर बटालाले बताउनुभयो।
सो कम्पनीले भेरी नगरपालिका–१३, कुदुदेखि काँडाबान्नीसम्मको ३५ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको थियो। कम्पनीले नेपाल सरकारसँग एक अर्ब रुपियाँमा सम्झौता गरी काम सुरु गरेको थियो। छेडागाड नगरपालिका–१२, मन्ताभीरमा ट्र्याक खुल्न सकेको छैन। सडक निर्माण कम्पनीले पुस, माघको चिसोमा कालोपत्रे गर्दा बलियो नहुने भएकाले फागुनसम्ममा काम सम्पन्न हुने जनाएको छ।