यादवराज पुरी
रौतहट, पुस १३ गते । अनाथालयमै हुर्किएर पढेर इन्जिनियर बनेका एक जनाको छलकपटले अनाथालय नै लथालिङ्ग बनेको छ। सोही अनाथालयमा आश्रित भएर इन्जिनियरिङ गर्नुभएका हृदयलाल कुशवहाले गरेको छलकपटले अनाथालयमा आश्रित अन्य बालबालिका समस्यामा परेका छन्। असहाय तथा टुहुरा बालबालिकाको संरक्षण गर्दै आएको जिल्लाको गरुडा नगरपालिकामा अवस्थित वंशीराम अनाथालयमा हुर्केका युवाले सञ्चालकलाई ललाइफकाई जमिन आफ्नो नाममा पास गरी सम्पर्कविहीन बनेका छन्।
सडक बालबालिकाको पीडा देखेर श्रीमती र छोराछोरीसमेत त्यागी आफ्नो अंश लिएर ३० वर्षअघि अनाथालय सञ्चालन गर्नुभएको थियो। २०५१ सालमा उक्त संस्थाको स्थापना भएको थियो। आमाबाबु गुमाएका सर्लाही बरहथवाका अनाथ कुशवाहा गाउँकै शिक्षकको सहयोगमा ११ वर्षको उमेरमा अनाथालय प्रवेश गरेको सञ्चालक मिश्र बताउनुहुन्छ। सानै उमेरदेखि अनाथालयमै बसेर विद्यालय शिक्षा हासिल गरिसकेपछि इन्जिनियर शिक्षाका लागि समेत आर्थिक सहयोग पाएको अनाथ कुशवाहले बेइमानी गर्लान् भन्ने आफूलाई विश्वास नै नभएको उहाँले बताउनुभयो। इन्जिनियर कुशवाह अनाथालयको कोषाध्यक्षसमेत हुनुहुन्छ।
नगरपालिका र विभिन्न दाताको आर्थिक सहयोगमा सञ्चालित अनाथालयको सञ्चालक मिश्र अस्वस्थ हुँदा इन्जिनियर कुशवाहालाई अनाथालय सञ्चालनको जिम्मेवारी दिइएको थियो। सञ्चालक मिश्रले सञ्चारकर्मीसँग भन्नुभयो, “इन्जिनियर कुशवाहको इमानदारी देखेर अनाथालयको नाममा रहेको करोडौँ मूल्य पर्ने करिब सवा तीन कट्ठा जमिनसमेत उहाँ र उहाँकी श्रीमतीका नाममा पास गरिदिए। अहिले कुशवाहा दम्पत्ति सम्पर्कविहीन हुनुहुन्छ र जग्गा बेचबिखनतर्फ लाग्नुभएको बुझिएको छ। उहाँले मलाई छलकपटपूर्ण व्यवहार गर्नुभयो।”
संस्थाका सचिव गणेशप्रसाद साहले चार महिनाअघि मात्र करिब चार करोड रुपियाँ मूल्य पर्ने उक्त क्षेत्रफलको जमिन इन्जिनियर कुशवाहको नाममा पास गरेको एक साता नबित्दै उहाँहरू सम्पर्कविहीन रहनुभएकाले अनाथालयमा आश्रित ३२ जना बालबालिका समस्यामा परेका छन्। उनीहरूको हेरचाह र पठनपाठन प्रभावित बनेको छ।
स्वास्थ्य अवस्था कमजोर बन्दै गएका ८३ वर्षीय वंशीरामलाई जमिनको भन्दा अनाथालयमा आश्रित बालबालिको अवस्थाले सताएको छ। अनाथालयको विकासमा राम्रो योगदान पु-याउने आशाले उहाँले पाँच वर्षअघि इन्जिनियर कुशवाहको विवाह संस्थामै रहेकी अनाथ गायत्रीदेवीसँग गराइदिनुभएको थियो। अहिले उहाँका दुई सन्तान छन्। अनाथले अनाथकै समस्या बुझ्ने सोचाइ राखेर वंशीरामले कुशवाहा दम्पतीलाई अनाथालयमा बसोबास गराई बालबालिकाको साझा अभिभावकको समेत जिम्मेवारी दिनुभएको थियो। भारतको देहरादुनको देवसंस्कृत विश्वविद्यालयबाट पोली इन्जिनियरिङको पढाइ सकेर कुशवाहा अनाथालय फर्किनुभएको थियो।
संस्थाका अध्यक्ष भूवनेश्वर जयसवालले कुशवाहा दम्पतीको नाममा रजिस्ट्रेसन पास गरेको उक्त क्षेत्रफलको जमिन मालपोत कार्यालय गरुडा शाखाबाट रोक्का गर्न माग गर्दै गरुडा नगरपालिकामा व्यवस्थापन समितिको निर्णय पेस गरेको बताउनुभयो।