• १२ मंसिर २०८१, बुधबार

पहिरोमा पहरा दिएर पढाइ

blog

सिन्धुली समाचारदाता

सुनकोसी (सिन्धुली), पुस १३ गते । सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ खन्नेखर्कस्थित भूमेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक ताराकुमारी कार्कीलाई विद्यालयको समयमा पढाइभन्दा बालबालिकालाई पहिरोमा परेर लड्लान भन्ने पिरलो पर्ने गर्छ। विद्यालयकै आँगनमा गएको पहिरोबाट कतिखेर बालबालिका लड्ने हुन् भन्ने उहाँलाई चिन्ता लाग्दा पढाइसमेत प्रभावित हुने गरेको छ।

सधैँ पहिरो नजिकै डिलमा उभिएर परैबाट बालबालिकालाई पहिरोतिर नजान भन्दै आएको उहाँले सुनाउनुभयो। उहाँले भन्नुभयो, “कतिपय बालबालिका भनेको मानेर कोठाभित्रै बस्छन्। कतिपय बालबालिका त आँखा छलेर पहिरोको डिलमा पुगि हाल्छन्। शिक्षकलाई पालैपालो पहिरोको डिलमा बसेर पहरा दिई पढाउनुपर्ने बाध्यता छ।” 

विद्यालयमा घेराबेरा नहुँदा पढाइको भन्दा पनि बालबालिकाको सुरक्षाको चिन्ता रहेको प्रअ ताराकुमारीको भनाइ छ। कक्षा तीनसम्म पढाइ हुने उक्त विद्यालयमा २१ जना बालबालिका अध्ययनरत छन्। शिक्षक र कार्यालय सहयोगीसहित तीन जना कार्यरत छन्। तीन जनामध्ये एक जना विद्यालय समयमा अनिवार्य भीरमा पहरा दिन बस्नुपर्ने उनीहरूको गुनासो छ।  तीन वर्षअघि रामटार, लिट्टेभन्ज्याङ, थापाथुम्का हुँदै बन्दीपुरसम्मको सडकको ट्र्याक खोल्दा पहिरो झर्न सुरु ग-यो। यसले विद्यालय जोखिममा परेको छ। विद्यालयको कक्षाकोठाबाट पाँच मिटरको दूरीमा पहिरो झरेको भीर छ। त्यही पहिरोबाट विद्यार्थीलाई जोगाउन शिक्षकले पहरा दिएर बस्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ। 

प्रअ ताराकुमारीका अनुसार अरू बेलाभन्दा पनि खाजा खाने समयमा बढी चनाखो हुनुपर्ने बाध्यता छ। बालबालिका खेल्ने क्रममा आफ्नै सुरमा हुन्छन्। पहरा दिएर नबसे दुर्घटना हुनसक्ने खतरा रहन्छ। बीपी राजमार्गअन्तर्गत रामटारबाट तीन घण्टाको ठाडो उकालो पार गरेपछि उक्त विद्यालयमा पुगिन्छ। घेराबेराका लागि एक दशक अघिदेखि सरोकारवाला निकायमा आग्रह गरे पनि सुनुवाइ नभएको प्रअ ताराकुमारीको भनाइ छ। 

उहाँले भन्नुभयो, “कम्पाउन्डवाल मात्रै भइदिए ढुक्क हुन्थ्यो। शिक्षकले पढाइमा ध्यान दिएर पढाउँथे। अहिले त पढाइभन्दा पनि पहिरोमा ध्यान जान्छ।” 

स्थानीय वृद्ध मगरसिंह घिसिङले एक रोपनी एक आना जग्गा विद्यालयलाई दान दिएपछि पहराकै छेउमा विद्यालय निर्माण भएको हो। जग्गादाता घिसिङका अनुसार दुईवटा कोठा शिक्षा विकास तथा समन्वय एकाइको सहयोगमा निर्माण भए पनि बालविकास कक्षाकोठा भने निर्माण भएको छैन। बालबालिकाका लागि बालविकास कक्षा, खेल्ने सामग्री र मसलन्द  उपलब्ध हुनुपर्ने विद्यालयको माग छ। बालविकास केन्द्रका बालबालिका बस्नका लागि ओछ्याइएको म्याट पनि ठाउँठाउँमा प्वाल परेकाले फेर्ने बेला भएको अर्का शिक्षिका बिना मगरले बताउनुभयो।  सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहोराले उक्त विद्यालयलाई सुरक्षित स्थानमा सार्न जग्गाको खोजी भइरहेको र जग्गा नपाएमा गाउँपालिकाले विद्यालय घेराबेरा गरिदिने बताउनुभयो।