दीपकप्रसाद गौतम
वीरगञ्ज, पुस १२ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, वीरगञ्ज शाखाले सोमबारदेखि धान खरिद गर्न सुरु गरेको छ तर सरकारले तोकेको मूल्यमा धान बेच्न भने किसानलाई सकस हुने गरेको छ ।
सोमबार बिहान ९ बजे कार्यालय खुल्ने र धान बोकेका ट्याक्टर कार्यालय परिसरभित्र जान पाउने भए पनि धान लिएर आएका ट्याक्टर आइतबार दिउँसोदेखि नै कार्यालय परिसरबाहिर सडकमा लामबद्ध थिए ।
“निजी मिल वा उद्योगलाई बेच्यो भने यति मूल्य दिँदैनन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई बेच्न ट्याक्टर दुईदेखि चार दिनको भाडा तिरेर ल्याउनुपर्छ, चिसोको समय छ, लाइनमा बस्न र रात बिताउनसमेत गाह्रो छ,” किसान ब्रह्मदेव यादवले भन्नुभयो । ट्याक्टरमा राखिएको धान चोरिने डर पनि हुने उहाँले बताउनुभयो ।
गत वर्ष कार्यालयको मुख्य गेट नजिकै पार्किङ गरिएको ट्याक्टरबाट दुई बोरा धान हराएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाका कार्यालय प्रमुख विकास कटुवालले बताउनुभयो ।
निजी मिल वा खाद्य उद्योगले अहिले प्रतिक्विन्टल दुई हजार चार सयदेखि दुई हजार पाँच सय रुपियाँमा सोना मन्सुली धान खरिद गरिरहेका छन् भने खाद्य कम्पनीको वीरगञ्ज शाखाले सोही धान तीन हजार १२८ रुपियाँमा खरिद गरिरहेको छ । प्रतिक्विन्टल ६२८ देखि ७२८ रुपियाँ बढी मूल्य पाउने भएकाले किसान खाद्य कम्पनीलाई धान बेच्न चाहन्छन् ।
कार्यालयभित्र सोमबार दिउँसो ३ बजेसम्म ८० वटा ट्याक्टर रहेका र २६ वटा ट्याक्टरको धान तौल काँटा गरी खरिद गरिसकिएको तथा साँझसम्ममा ४० वटा ट्याक्टरको धान खरिद गरिसक्ने लक्ष्य लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाका सूचना अधिकारी समीर दाहालले बताउनुभयो ।
खाद्य कम्पनीको कार्यालयमै भेटिनुभएका किसान सङ्घ पर्साका अध्यक्ष सहरुम गद्दीले कार्यालयबाहिर सडकमा धान लोड गरिएका किसानका करिब ३०–३५ वटा ट्याक्टर लामबद्ध रहेको बताउनुभयो । साँझमा अझ बढ्ने उहाँले तर्क गर्नुभयो ।
किसानको मात्र धान खरिद गर्नका लागि भन्दै शाखाले किसानको लालपुर्जा र सम्बन्धित स्थानीय तहको सिफारिस र नागरिकताको प्रमाणपत्रका आधारमा धान खरिद गर्ने गरेको सूचना अधिकारी दाहालले दाबी गर्नुभयो । खाद्य कम्पनीले महँगो मूल्यमा धान खरिद गर्ने गरेकाले किसानभन्दा बिचौलियाको धान खाद्य कम्पनीले खरिद गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
यस वर्ष सोना मन्सुली धान १० हजार क्विन्टल र जिरा मसिनो दुई हजार क्विन्टल खरिद गर्ने कोटा केन्द्रबाट पाएको खाद्य कम्पनीका वीरगञ्ज शाखाका प्रमुख कटुवालले बताउनुभयो ।
धान खरिद चुस्त र दुरुस्त पार्न किसानको मात्र धान खरिद होस् भन्ने चाहने किसान सङ्घसङ्गठन र स्थानीय प्रहरी प्रशासनलाई बेलाबेलामा निरीक्षण गरिदिनुहुन कार्यालय प्रमुख कटुवालले आग्रह गर्नुभएको छ ।
गत वर्ष पुस १० गतेदेखि धान खरिद गर्न सुरु गरी वीरगञ्ज शाखाले १७ हजार क्विन्टल सोना मन्सुली धान खरिद गरेको उहाँले बताउनुभयो ।