• ८ पुस २०८१, सोमबार

उदाहरणीय बन्यो सामुदायिक विद्यालय

blog

ललिता साह

बोदेबर्साइन (सप्तरी), पुस १२ गते । सामुदायिक विद्यालयको शैक्षिक सुधारको चौतर्फी चिन्ता भइरहेको बेला सप्तरीको एक सामुदायिक विद्यालयले नाम चलेका निजी विद्यालयहरूलाई चुनौती दिएको छ। 

जिल्लाको सुरुङ्गा नगरपालिका–८ मा २०२० सालमा स्थापित श्री आधारभूत विद्यालय मलहानमा नगरकै पहिलो विद्यालय हो। बिगँरदो शिक्षाको हालतलाई हेरेर सामुदायिक स्कुलप्रति अभिभावकहरूले सजिलै विश्वास गरेको देखिँदैन तर यो विद्यालयको सन्दर्भमा भने फरक छ। 

दुईदेखि पाँच वर्षसम्मका ४४ जना साना बालबालिका पढ्ने यो विद्यालयको बाल विकास केन्द्र नमुनाका रूपमा रहेको छ। राम्रो वातावरण, राम्रो पढाइ, अतिरिक्त क्रियाकलापले बच्चालाई पढ्न लोभ्याउने गरेको स्थानीय अभिभावक सुनिता चौधरी बताउनुहुन्छ।

बाल विकास, विद्यालय खाजा कार्यक्रमको प्रभावकारी छ। निजी विद्यालयमा पठाएका बालबालिकाहरू पनि भागेर यही विद्यालयमै पढ्न आउने गरेको बाल विकास केन्द्रकी सहजकर्ता सुनिता साहले दाबी गर्नुभयो। 

विद्यालयका प्रधानाध्यापक महिनारायण पासवानका अनुसार पञ्चायतकालीन समयमा निर्माण गरिएका अधिकांश संरचना भने जीर्ण बनेका छन् तर विद्यालय सञ्चालन भएदेखि त्यतिबेलाको भौतिक संरचना अहिले पनि नयाँ भवनझैं देखिने गरी रङरोगन र मर्मत गरिएको छ। 

८ कक्षासम्म पठनपाठन हुँदै आएको विद्यालयमा तीन सयभन्दा बढी नियमित विद्यार्थी छन्। पासवानले भन्नुभयो, “यहाँ प्रशासन र शिक्षकबीचको सुमधुर व्यवहार, विद्यालयको पठनपाठन राम्रोसँग अगाडि बढाउन सकेका छौँ। नेपाल सरकारका शैक्षिक मापदण्डको सबै सर्त पूरा गरेको विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतसमेत छनोट भएका हो। अब विद्यालयको स्तरोन्नति र नमुना विद्यालय घोषणामा सरकारको पहल जरुरी छ।’’ छ जना स्थायी दरबन्दी, राहत र बाल विकास गरी ११ जना शिक्षक विद्यालयमा कार्यरत छन्। विद्यालयमा शैक्षिक सामग्री, अतिरिक्त क्रियाकलापमा चाहिने सामग्री पनि अपुग छैन। निजी विद्यालयका विद्यार्थीभन्दा सबै कुरामा विद्यार्थी अब्बल रहेको विज्ञान विषयका शिक्षक समुजलाल चौधरीले बताउनुभयो। 

विद्यालयमा कुनै समस्या नरहेकोले शैक्षिक गतिविधि र पठनपाठनमा अरू विद्यालयभन्दा धेरै राम्रो रहेको अभिभावक दीपेन्द्र पासवानको भनाइ छ। सेभ द चिल्ड्रेनको साझेदारीमा सबल नेपाल भन्ने संस्थाको सहकार्यमा सुरुङ्गा नगरपालिकाका विद्यालयमा ‘समुन्नती’ परियोजना लागू भएको छ। परियोजनाका शैक्षिक सुधारका विभिन गतिविधिले विद्यालयलाई थप राहत पुगेको छ। परियोजनाअन्तर्गत खानेपानीको व्यवस्था, बालमैत्री शौचालय निर्माण, ट्युबवेल जडान, विद्यालय मर्मत, रङरोगन, शैक्षिक सामग्री सहयोग, पुस्तकालय व्यस्थापन गरिएको छ। 

नगरले यहाँका आधारभूत र माध्यमिक गरी ३४ वटा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि झन्डै दुई करोड ५० लाख रकम विनियोजन गरेको वडाध्यक्ष श्याम साहले जानकारी दिनुभयो। यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित तेजुलाल चौधरीले शिक्षामा लगानी बढाउन आफ्नो प्रयास रहने बताउनुभयो।