• १९ असोज २०८१, शनिबार

बाली भित्र्याएपछि मजदुरी गर्न भारत

blog

जनार्जन खत्री

सर्लाही, पुस १२ गते । सर्लाहीको दक्षिणी भेगका युवा धान र अन्य हिउँदे बाली भित्र्याएपछि काम खोज्दै छिमेकी मुलुक भारततर्फ जान थालेका छन्। 

जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने पालिका हिजोआज युवाविहीन बनेका छन्। अब हिउँद यामभर गाउँघरमा खासै काम नपाइने भएपछि युवाको समूह रोजगारीको खोजीमा भारतको पन्जाब, हरियाणा, दिल्लीलगायतको ठाउँमा जान थालेका हुन्।  

भारतमा पुगेर युवाले ज्यामी र खेतीबारीको काम गर्ने गरेका छन्। विष्णु गाउँपालिका–३, का स्थानीय नितेशजङ्ग यादवले गाउँबाट दैनिक ठूलो सङ्ख्यामा युवा काम खोज्दै भारत गइरहेका जानकारी दिनुभयो। 

गाउँमा काम नपाएपछि आफ्ना धेरै साथी भारत गएका यादवले बताउनुभयो। यादवले भन्नुभयो, “धान भित्र्याएपछि गाउँघरमा खासै काम हुँदैन, काम नभएपछि गाउँका दाजुभाइ भारत गइरहनुभएको छ। अब उहाँहरू हिउँदभर मजदुरी गरेर फर्किनुहुन्छ।” 

सीमावर्ती क्षेत्रमा पर्ने विष्णु, गोडैता, बलरा, मलङ्गवा, पर्सासहित कविलासी, चन्द्रनगर, हरिपूर्वा, रामनगरलगायत पालिकाका अधिकांश पुरुष रोजगारीको खोजीमा भारत पुग्ने गरेका छन्। ग्रामीण भेगका सिमित युवा भने यहीँ उखु काट्न व्यस्त छन्।  

बलरा नगरपालिकाका नगरप्रमुख रामाशङ्करप्रसाद कुशवाहाले सीमावर्ती क्षेत्रका पुरुष वर्षांैदेखि मजदुरीका लागि भारत पुग्ने प्रचलन नै रहेको बताउनुभयो। नगरप्रमुख कुशवाहाले भन्नुभयो, “यहाँबाट बर्सेनि काम खोज्दै युवाको ठूलो समूह भारत पुग्छ, अधिकांशको व्यवहार त्यसैगरी चलेको छ।” खाडी मुलुकमा रोजगारीका लागि नगएका युवा चार/पाँच महिनाको काम खोज्दै भारत जाने गर्छन्। त्यसरी रोजगारीका लागि भारत पुगेका युवालाई स्थानीय स्तरमै रोजगारी दिलाउन पालिकाहरूले कुनै कदम चाल्न नसकेको गुनासो छ।