• १२ मंसिर २०८१, बुधबार

अनुमतिबिना बेच्छन् फार्मेसीले खाद्यपूरक

blog

नवराज कट्टेल 

विराटनगर, पुस १२ गते । ‘नट फर मेडिसिन युज’ भनेर लेखिएको न्यूट्रास्युटिकल (खाद्यपुरक) सामाग्री औषधिका रूपमा फार्मेसीबाट कारोबार हुने गरेको छ। चिकित्सकको सिफारिसमा फार्मेसीबाट उपचारमा आएका सेवाग्राहीलाई भिराउने खाद्यवस्तु मेडिसिनका रूपमा बिरामीले प्रयोगमा ल्याउँछन्। 

औषधि व्यवस्था ऐनअन्तर्गत सञ्चालित फार्मेसी खाद्यपूरक सामाग्री बिक्रीका लागि कानुनसम्मत हुँदैनन्। खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर आयात गरिएका आहारपुरक सामाग्रीको सिफारिससमेत चिकित्सकले गर्न पाउँदैनन्। यसको सिफारिस गर्ने अधिकार पोषणविद्लाई मात्रै हुन्छ। 

औषधि व्यवस्था विभागको कार्यालय विराटनगरका प्रमुख टेकेन्द्र मिश्रका अनुसार ठूला भनिएका अस्पतालको परिसरमा फार्मेसीबाट व्यापार भइरहेको छ। उहाँका अनुसार पोषणविद्लाई छल्दै विशेषज्ञ चिकित्सकले यसको सिफारिस गरिदिन्छन् र सेवाग्राहीमार्फत मोटो रकम लिएर फार्मेसीले व्यापार चलाइरहेका छन्। 

विभागको विराटनगर कार्यालयले गरेको अनुगमनमा विराटनगर, सुनसरी र झापामा रहेका ठूला निजी अस्पताल परिसरमा यसको व्यापार मौलाएको छ। बिरामीलाई डाक्टरले औषधि सिफारिस गरिदिएको आधारमा फार्मेसीले आहारपूरक सामाग्रीसमेत बिक्री गरेर अपराध गरिरहेको देखिएको छ। 

कार्यालयले पछिल्लो सात महिनामा गरेको निरीक्षणमा २९ वटा फार्मेसीले औषधि भन्दै बिक्रीका लागि राखेको खाद्यपूरक सामाग्री नियन्त्रणमा लिइसकेको छ। अधिकांश ठूला निजी स्तरका अस्पताल परिसरका फार्मेसी रहेको प्रमुख मिश्रको भनाइ छ। निरीक्षणका क्रममा विराटनगको नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पतालको सुस्वास्थ्य फार्मेसी, मेडिकेम फर्मा, अस्पताल चोकको उज्जवल फर्मामा यस्तो गरेको पाइएको हो। फेसबुक फार्मेसी, शिवराम फार्मेसी, श्रीगणेश ड्रग हाउस, विराटनगर अस्पताल (विराट नर्सिङ होम) परिसरको फार्मेसी, युनिक फार्मेसीबाट विभागले यस्तो वस्तु बरामद गरेको जानकारी मिश्रले दिनुभयो। 

यसैगरी विराटनगरको सप्तकोसी फार्मेसी, सीताराम फार्मेसी, झापाको दमकस्थित मञ्जिता फार्मेसी, सायरा फार्मेसी, तोयानाथ फार्मेसी, जुनतारा फार्मेसी, अतुत्यन मेडिकल, आयुव फार्मेसीबाट समेत सामाग्री नियन्त्रणमा लिइएको थियो। झापा बिर्तामोडको मनमोहन अस्पतालको फार्मेसीबाट समेत यस्तो सामाग्री बरामद गरिएको कार्यालयका प्रमुख मिश्रले जानकारी दिनुभयो। 

खाद्यपूरक सामाग्री खाद्य वस्तुको रूपमा उपभोग गर्ने गरिन्छ। यसलाई औषधिको रूपमा प्रयोगमा ल्याउनु गलत मानिन्छ। कार्यालय प्रमुख मिश्रका अनुसार भारतबाट किलोको दरले आयात गरिएको यस्तो वस्तुलाई नेपालमा औषधिको रूपमा प्रयोग गर्दा प्रत्येक एक बिरामीले एक हजार रुपियाँ त्यसै खर्च गर्नुपर्ने अवस्था छ। यसको प्रयोग पोषणविद्को सिफारिसमा गर्नुपर्ने र आवश्यक पर्नेहरूले डिपार्टमेन्ट स्टोर वा अन्य स्थानबाट खरिद गर्नुपर्ने भए पनि औषधि पसलको व्यापार फस्टाउन चिकित्सकको सिफारिस कारण बन्ने गरेको देखिएको छ।