• १९ असोज २०८१, शनिबार

बैङ्क सेवा पुग्दा सहज

blog

जाजरकोट समाचारदाता

जाजरकोट, पुस १२ गते । यस जिल्लाकै दुर्गम गाउँपालिकाका रूपमा रहेको जुनीचाँदे गाउँपालिकामा बैङ्क शाखा सञ्चालनमा आएपछि स्थानीयवासीलाई सहज भएको छ । जिल्ला सदरमुकामबाट पैदल दुई दिन लाग्ने दैलेख, सुर्खेत र कालीकोटको सिमानामा पर्ने यस गाउँपालिकामा कृषि विकास बैङ्कले साउनदेखि शाखा सञ्चालनमा ल्याएको हो । 

यसअघि बैङ्किङ सेवाका लागि सदरमुकाम आउनुपरेको थियो । जिल्ला सदरमुकामबाट यो गाउँपालिका पुग्न गाडीमा एक दिनको यात्रा गर्नुपर्छ तर सवारीसाधनका रूपमा जिप सञ्चालन हुने भए पनि धेरै खर्चिलो छ । 

सामाजिक सुरक्षा भत्ता तथा अन्य सरकारी योजनाका कामकाजको लागि भुक्तानी लिन आउँदा जाँदा पाइने रकम खाना बस्न र यातायातमै खर्च गर्नुपर्ने बाध्यता रहेको स्थानीय पदमबहादुर शाहीले बताउनुभयो । जुनीचाँदे गाउँपालिकाका प्रमुख वेदबहादुर शाहीले बैङ्क आएसँगै गाउँपालिकाको सम्पूर्ण भुक्तानीमा सहजता आएको बताउनुभयो ।

गाउँपालिकाको केन्द्र विवाद र सुरक्षाका कारण बैङ्कको शाखा स्थापनामा ढिलाइ भएको थियो । यस शाखाबाट दैनिक एक सय जनाले बैङ्क खाता खोल्ने गरेका छन् भने दैनिक दस लाख रुपियाँको कारोबार हुने गरेको बैङ्कले जनाएको छ । बैङ्क शाखा प्रमुख नरभूपाल चौधरीले बैङ्कमा दैनिक कारोबार आफूहरूले अपेक्षा गरेभन्दा राम्रो रहेको बताउनुभयो ।