• १२ असोज २०८१, शनिबार

‘हामीले किताब कहिले पाउने ?’

blog

बालविवाह न्यूनीकरणको सवालमा छलफल गर्दै बालबालिका र सरोकारवालाहरू । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, पुस ११ गते । जिल्लाको शुभकालिका गाउँपालिका –७ की मेनका शाहीले अर्को शैक्षिक सत्र आउन लाग्दासम्म किताब नपाएको गुनासो गर्नुभयो । कक्षा १० मा अध्ययनरत छात्रा शाहीले तीन महिनामा मतपत्र पुगेर नयाँ सांसद चुनिन सक्ने, तर विद्यार्थीका लागि पाठ्यपुस्तक पुग्न वर्षदिन किन लाग्ने ? जिज्ञासा गर्नुभयो ।

नयाँ शैक्षिक सत्र सुरु भएको नौ महिना पुग्नै लागेको छ । तर विद्यार्थीका हातमा पाठ्यपुस्तक नभएकोप्रति विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् । शुभकालिका –१ का लक्ष्मण अधिकारीले विद्यालयमा किताबभन्दा पनि कम्प्युटर, इन्टरनेट प्रमुख भएको सुनाउनुभयो । जनप्रभात माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी अधिकारीले विद्यालयमा पढ्ने विद्यार्थीका लागि चाहिने पाठ्यपुस्तक होइन, पढाउने गुरुका लागि विलासिताका बस्तु ल्याएर शैक्षिक सुधार गर्न खोज्नु गलत भएको गुनासो गर्नुभयो ।

“हामीलाई चाहिने किताब हो, कहिल्यै समयमा आउँदैन” उहाँले भन्नुभयो । सदरमुकाम मान्मस्थित होटल सनलाइटमा आयोजित बालविवाह न्यूनीकरणका लागि सरोकारवालाको भूमिका विषयक बाल ‘कचहरी’ कार्यक्रममा विद्यार्थीले आफ्नो जिज्ञासा राख्नुभयो ।

विद्यार्थीले आफूलाई चाहिने सामग्रीमा ध्यान दिन माग गरेका हुन । सेभ द चिल्ड्रेन किर्डाक नेपालको साझेदारी तथा जिल्लामा गठित बालबिवाहबिरुद्धको साझा अभियानले आयोजना गरेको बाल ‘कचहरी’ मा आफ्ना धारणा राख्न विद्यालयका छात्रा, छात्राले बालबालिका अधिकारको पक्षमा बोलेका थिए ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी जयश्वर रिमालले बालविवाह न्यूनीकरण, बालश्रमको अन्त्यमा ‘प्रहरी मेरो साथी’ कार्यक्रमलाई प्रभावकारी बनाउने बताउनुभयो । कार्यक्रममै अपराधजन्य घटनामा कानुन अनुसारको कारबाहीका लागि प्रहरी जुनसुकैबेला तयार रहेको उहाँले बताउनुभयो ।