• १२ असोज २०८१, शनिबार

माओवादीबाट उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठ सिफारिस

blog

काठमाडौँ, पुस ११ गते । नवनियुक्त प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पहिलो चरणमा मन्त्री हुनुहुने भएको छ । 

माओवादी केन्द्रको सोमबार बिहान पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीमा सिफारिस गर्ने निर्णय भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । श्रेष्ठ राष्ट्रिय सभा सदस्य हुन् ।

प्रवक्ता महराले भन्नुभयो, “आज पदाधिकारी बैठक बस्यौँ । आजै माओको जन्मदिन आजै नवनियुक्त प्रधानमन्त्री पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शपथ ग्रहण हुनेछ ।” बैठकमा समसामयिक राजनीतिक परिस्थितिको व्याख्या एवम् विश्लेषण भएको उहाँ बताउनुहुन्छ ।

नेपाली काँग्रेससँगको गठबन्धन जोगाउन हिजो आइतबार मध्यान्ह १२ बजेसम्म पर्खेको तर, पूर्व समझदारी अनुसार प्रधानमन्त्री र राष्ट्रपति दुवै पद माओवादीलाई नदिने भएपछि सात वटा दलसँग समझदारी भएको उहाँको भनाइ छ । 

“पहिला भएको समझदारी अनुसार प्रधानमन्त्री, राष्ट्रपति नदिने भएपछि सात वटा पार्टीको बीचमा समझदारी भएर प्रधानमन्त्री हामीले लियौँ”, महराले जोड्नुभयो । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले अध्यक्ष प्रचण्डलाई बधाई  दिनुभएको जानकारी उहाँले दिनुभयो ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । आजै सानो मन्त्रिमण्डल विस्तार हुने महराले बताउनुभयो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।