प्रेमराज सिम्खडा
कालीकोट, पुस ११ गते । कालीकोटको शुभकालिका गाउँपालिका–२, भर्ताकी कल्पना तिमिल्सैना अहिले ७० वर्ष पुग्नुभयो। २००९ सालमा जन्मिनुभएकी तिमिल्सैनाको विवाह २०२३ सालमा भएको थियो; जुन बेला उमेर १४ वर्षको थियो। विवाहको दुई वर्षपछि १६ वर्षको उमेरमा उहाँले पहिलो सन्तान जन्माउनुभएको थियो।
सानै उमेरमा बच्चा जन्माउँदाको पीडा त्यो बेला हुने नै भयो। त्योभन्दा पनि बढी समस्या उहाँ ४० वर्षको हुँदादेखि झेलिरहनुभएको छ। तिमिल्सैनाले १२ सन्तानलाई जन्म दिनुभयो। अहिले आठ छोराछोरी जीवित छन्। छ छोरा र दुई छोरीकी आमा कल्पना भुइँमा बस्न सक्नुहुन्न। उहाँ ४० वर्षयता थरथरी शरीर काम्ने रोगले थला पर्नुभएको छ।
स्वास्थ्य परीक्षणका लागि अस्पताल जाँदा चिकित्सकले कमजोरीका कारण यस्तो भएको बताउने गरेका छन्। घरमा खासै पोसिलो खानेकुरा केही हुँदैनथ्यो। १२ सन्तानको जन्म, घरधन्दाले आफू कमजोर भएको हो कि भन्ने पछुतो कल्पनालाई छ।
कल्पना तिमिल्सैनाले विगतको भोगाइ सम्झनुभयो, “ऊ बेला बच्चा कमै (नापै) जन्माउनुपर्छ भनेर भन्ने सम्झाउने पनि थिएनन्। अहिलेजस्तो गर्भ रोक्ने, जन्मान्तर गर्ने औषधि पनि थिएन।” उहाँले भन्नुभयो, “केही सेवासुविधा नभएकाले पनि आफ्ना (हाम्मा) पालामा सानै उमेरमा विवाह हुने चलन थियो। बच्चा जन्मेका बेला गाईबस्तु बाँध्ने गोठमा बस्ने चलन थियो।”
विगतका दुःख सम्झेर भावुक बन्दै तिमिल्सैनाले भन्नुभयो, “खाने कुरा दूध, दही, मही खान पाइँदैनथ्यो। सुत्केरी भएको पाँच दिनपछि मात्र घिउ खान पाइन्थ्यो।”
कल्पना तिमिल्सैनाको जस्तै राजकुमारी शाहीसँग पनि अहिले पछुतोबाहेक बाँकी केही छैन। ३० वर्षकी शाहीको पनि १४ वर्षमा विवाह भएको थियो। दुई छोरी र एक छोराको जन्मपछि श्रीमान्ले दोस्रो विवाह गरेर भारततिर गएको अहिले सात वर्ष भयो। उहाँले भन्नुभयो, “सानै उमेरमा बुवाआमाले विवाह गरिदिए। अहिले दुःख पाएँ।”
“कलिलै उमेरमा बच्चा जन्माउनु परेकाले पाठेघरको समस्या छ। लगातार बच्चा जन्माउनु परेकाले बच्चा कुपोषित छ। छोरा सात वर्षको भयो तर बोली फुटेको छैन। बिस्तारै खुट्टा टेक्न थालेको पनि दुई वर्ष भयो। गाउँपालिकाले मासिक दुई हजार भत्ता दिन्छ। त्यसैले कहिलेकाहीँ मासु, अन्डा खुवाउने गरेको छु,” उहाँले सुनाउनुभयो। सानै उमेरमा विवाह नगर भनेर गाउँका गन्यमान्यले सुझाव दिएको स्मरण गर्दै शाहीले भन्नुभयो, “विवाह गर्ने निर्णय आफ्नो हातमा थिएन, के गर्ने ?”
शनिबार शुभकालिका गाउँपालिका–२ ले बालविवाह निषेधित वडा, बालश्रममुक्त तथा अनिवार्य आधारभूत शिक्षा लागू भएको घोाषणा कार्यक्रममा आएका अधिकांश महिलाका समस्या यस्तै थिए। वडाध्यक्ष मनबहादुर शाहीले बालविवाहकै कारण आफ्नो वडाका महिला पीडित भएको बताउनुभयो। बाल तथा महिला स्वास्थ्य सुधारकै लागि गैरसरकारी संस्थासँगको साझेदारीमा बालविवाहविरुद्धको अभियान चलाएको वडाध्यक्ष शाहीले बताउनुभयो। कालीकोट जिल्लाले पनि सन् २०२५ भित्र जिल्लालाई वालविवाह निषेधित जिल्ला घोषणा गर्ने लक्ष्य लिएको छ। सो कार्यक्रममा सहभागी जिल्ला समस्या समितिका प्रमुख धनजित शाहीले जिल्ला सभाबाटै पारित भएकाले सरकारलाई साथ दिन अनुरोधसमेत गर्नुभएको छ।