बर्दिबास समाचारदाता
बर्दिबास, पुस ११ गते । सेवाग्राहीले समयमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नपाउँदा यातायात क्षेत्रमा अनेकन समस्या र विकृति बढ्न थालेको छ। सरकारले सवारी चालकका लागि स्मार्ट लाइसेन्स वितरण गर्न थालेको एक दशक बित्न लागेको छ। नयाँ प्रविधिमा गएपछि समय तथा खर्चको बचत, पुराना समस्याको निराकरण र सेवास्तरीय हुनुपर्ने हो तर स्मार्ट लाइसेन्सको सवालमा भने यसको उल्टो असर देखिएको सेवाग्राहीको भनाइ छ।
लिखित र ट्रायल उत्तीर्ण गरेको महिनौँ बित्दा पनि लाइसेन्सविहीन हुनु परेको सवारी चालकको दुखेसो छ। स्मार्ट लाइसेन्सको ठाउँमा ‘राजस्व भौचर’ ले काम चलाउनुपर्ने बाध्यता सरकार र यातायात व्यवस्थालाई नै व्यङ्ग्य भएको सेवाग्राहीको भनाइ छ। लाइसेन्स नहुँदा ट्राफिक नियमन र अनुगमनमा पनि अप्ठेरो हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
बर्दिबासस्थित यातायात व्यवस्था सेवा कार्यालयका अनुसार समयमै कार्ड प्राप्त नहुँदा लिखित र ट्रायल पास गरेको छ महिना बितिसक्दा पनि लाइसेन्स वितरण गर्न सकेको छैन। कार्यालय प्रमुख सञ्जय खतिवडाका अनुसार असार १७ गतेदेखि मङ्सिर मसान्तसम्म उत्तीर्ण गरेका एक हजार २५७ जनाको लाइसेन्स आउन बाँकी छ।
यस अवधिमा सबैभन्दा बढी मोटरसाइकलका छ हजार ८४० जनाले सवारी लाइसेन्सको परीक्षा पास गरेका छन् तर लाइसेन्स कहिले पाइएको छैन। कार तथा जिपको ७५३, स्कुटरका ३३३, ट्रक बसको ७७, टेम्पोको ५३, मिनीबसको ४० र एक्साभेटर डोजरको ७७ जना सवारी लाइसेन्सको प्रतीक्षामा रहेको खतिवडाले बताउनुभयो।
“लाइसेन्स आयो कि आएन ? भनी सोधेर हैरान पार्छन्, हाम्रो समस्या बुझी दिँदैनन्,” उहाँले बताउनुभयो ‘स्मार्ट कार्ड नआउँदा राजस्व तिरेको भौचरलाई नै लाइसेन्स मान्नुपर्ने अवस्था छ। यस्ता भौचर सवारी चालक र ट्राफिकसमेतका लागि टाउको दुखाइ भएको छ। बर्दिबासस्थित जिल्ला ट्राफिक कार्यालय प्रमुख उदयसिंह सिजापतीका अनुसार लाइसेन्स कार्डको महत्व र प्रमाणिकता कागजी भौचरले बहन गर्न सक्दैन। यसबीच ‘लाइसेन्सी भौचर’को दुरुपयोग बढ्दै गएको पाइएको छ। एक जनाको नाममा जारी भएको भौचरलाई अर्को व्यक्तिले पनि लाइसेन्सका रूपमा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो। “लाइसेन्स भौचरमा फोटो नहुँदा यो नामको व्यक्ति आफैँ भएको बताई अरूले पनि दुरुपयोग गर्ने जोखिम बढेको छ,” सिजापतीले भन्नुभयो।
पुराना भइसकेका भौचरका अक्षर पनि अस्पष्ट हुने हुँदा दुरुपयोग गर्न सहज भएको छ। यसले ट्राफिक नियम अनुगमन र पालनामा चुनौती थपेको उहाँले बताउनुभयो। विगत पाँच महिनादेखि लाइसेन्सको प्रतीक्षमा बसेका गौशाला नपा–९, भरतपुरका मदन श्रेष्ठका अनुसार यस्ता भौचर पसिनाले भिज्ने, छिट्टै झुत्रो हुने, अक्षर नबुझिने कारण पनि अनेकन समस्या खेप्नु पर्छ। सो कार्यालयका अनुसार जनवरीदेखि जुन महिना (माघदेखि असार १६ गते) सम्मको पाँच हजार ३८ थान मात्र स्मार्ट लाइसेन्स प्राप्त भएको जनाएको छ। कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप हुँदा बिदाको दिनमा समेत सवारी लाइसेन्सको जाँच र ट्रायल लिने गरेको छ। अहिले दैनिक २०० जतिले जाँच दिने र १५० जना पास गर्ने गरेको सवारी लाइसेन्स फाँटले जनाएको छ।