• ८ पुस २०८१, सोमबार

भिट्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माण हुन सकेन

blog

जलेश्वर समाचारदाता 

जलेश्वर, पुस ११ गते । दुई वर्ष छ महिनामा निर्माण सम्पन्न हुने गरी शिलान्यास गरिएको भिट्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माण कार्य समयमा नै सम्पन्न गर्न समस्या देखिएको छ। २०७३ भदौ २४ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सो सडकको शिलान्यास गर्नुभएको थियो।

त्यति बेला जलेश्वरको खैरा चोक नजिक शिलान्यास हुँदा वर्षौंदेखि सडक भएर आउजाउ गर्नेहरूले भोग्दै आएको समस्याबाट मुक्ति पाउने आशले खुसीको लहर छाएको थियो। दशकौँदेखि उपेक्षाको सिकार भएर जीर्ण अवस्थामा रहेको उक्त सडक बन्ने भएपछि स्थानीयवासी खुसी हुनु स्वाभाविक पनि थियो तर अहिले स्थानीयवासी दुखी तथा आक्रोशित देखिएका छन्। 

दुई वर्ष छ महिना अर्थात् ३० महिनामै निर्माण सक्नु पर्ने उक्त सडक छ वर्ष तीन महिना अर्थात् ७५ महिना बितिसक्दासमेत तयार हुन नसकेपछि स्थानीयवासी दुखी तथा आक्रोशित देखिएका छन्। एकातिर निर्माण अवधिको झन्डै दोब्बरभन्दा पनि बढी समय बितिसक्दासमेत सडक निर्माण कार्य पूरा नहुनु र अर्कोतर्फ निर्माण कार्य पूरा नहुँदै सडक ठाउँठाउँमा भत्किन थालेपछि स्थानीयवासी चिन्तित देखिएका छन्। 

निर्माण कार्य पूरा नै नभई सडक खण्डको ठाउँठाउँमा बिग्रेर सुक्खामा धुलो र वर्षामा हिलो जम्ने कारण स्थानीयवासीले विगतमा भोगेको पीडा ज्युँका त्युँ रहन गएको अनुभव गर्न थालेका छन्। निर्माण कार्य हुन नसकेको ठाउँमा सडकबाट उड्ने धुलो घरको भान्छासम्मै पुग्ने गरेका जलेश्वर जिरोमाइलमा घर भएका स्थानीय छेदी चौधरीले गुनासो गर्नुभयो। 

“निर्माणाधीन उक्त सडक खण्डको जिरोमाइल नजिक काम नै नहुँदा” धुलो उडेर हैरान बनाएको छ” स्थानीय चौधरीले भन्नुभयो, “निर्माणसम्बन्धी ठेकेदार र सरोकारवाला निकायको ध्यान तत्काल यसतर्फ जानुपर्ने अत्यावश्यक छ।” 

मधेश प्रदेशको राजधानी जनकपुरलाई भारतीय सिमानासँग जोड्ने प्रमुख सडकका रूपमा उक्त भिट्ठामोड जलेश्वर जनकपुर सडक रहेको छ। 

तोकिएको समय सकिएको तीन वर्ष चार महिना बित्दासमेत कतिपय ठाउँमा सडक निर्माण नै भएको छैन भने कतिपय ठाउँमा निर्माण सम्पन्न भइसकेको सडकसमेत भत्किन थालेको जलेश्वर–१० का स्थानीय फारुख अन्सारीले बताउनुभयो।  

“निर्माण भएको सडक पनि भत्किन थालेको छ।” स्थानीय अन्सारीले गुनासो गर्दै भन्नुभयो, “निर्माण कार्य तोकिएकै अवधिमा सक्नुपर्ने हो तर यहाँ त अवधि सकेको पनि दोब्बर समय बितिसक्यो, योभन्दा ठूलो बिडम्वना के होला ?”

केही दिन पहिले स्थानीयवासीको गुनासोपछि प्रतिनिधि सभाको विकास तथा पूर्वाधार समितिले गठन गरेको अनुगमन समितिले समेत निर्माणमा त्रुटि भएको औँल्याएका थिए। पटक–पटक म्याद थपिँदासमेत सडक निर्माण सम्पन्न नभएपछि स्थानीय निराश छन्। १८.५६ किलोमिटरको सडक निर्माण गर्न ९३ करोड ४३ लाख रुपियाँमा दुई खण्डमा विभाजन गरी निर्माण गर्ने सम्झौता भएको थियो।

पहिलो खण्डमा जनकपुरधामस्थित जिरोमाइलदेखि महोत्तरीको पिपरासम्म श्रीप्रतिभा वाईपी जेभीले ४३ करोड ५४ लाख ७२ हजार ८७४ रुपियाँ र दोस्रो खण्डमा पिपरादेखि भिट्ठामोडसम्म ९.५६ किलोमिटर सडक श्रीआशिष पप्पु रोशन जेभीले ४९ करोड ८९ लाख २० हजार ७०७ रुपियाँमा ठेक्का सम्झौता गरेका थिए।

हुलाकी राजमार्ग परियोजना जनकपुरले साइट क्लियरेन्सको समस्याका कारण समयमै काम सम्पन्न हुन नसकेको बताउँदै आएका छन्। सडक खण्डमा पर्ने चारवटा मन्दिरको व्यवस्थापन, टेलिफोनको तार तथा विद्युत्को पोल व्यवस्थापन, स्थानीयवासीको अवरोधलगायतका कारणले समयसीमाभित्र काम सम्पन्न नभएको हुलाकी राजमार्ग परियोजनाले जनाएको छ।

जनकपुरधाम– भिट्ठामोड सडकखण्डमा पानी निकासको समस्या देखिएपछि थप नौवटा कल्भर्टको काम पनि थपिएका छन्। कल्भर्ट निर्माणका लागि इलाइट सूर्या जेभीसँग २०७७ भदौ १९ गते २९ करोड २६ लाख ६९ हजार रुपियाँमा सम्झौता भएको थियो। कल्भर्ट निर्माण २०७९ भदौ १८ मा सम्पन्न गर्नुपर्नेछ तर उक्त कार्य पनि पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन।