• २३ असार २०८१, आइतबार

दीर्घरोगीलाई निःशुल्क औषधि

blog

सोलुखुम्बु समाचारदाता

सोलुखुम्बु, पुस ११ गते । जिल्लामा डाँडापारिको गाउँपालिका भनेर चिनिने लिखुपिके गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि वितरण सुरु गरेको छ। गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार दीर्घरोगीलाई पहिलो पटक औषधि वितरण सुरु गरेको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिनुभयो।

जिल्लाकै पहिलो महिला गाउँपालिका अध्यक्ष कार्कीले गाउँघरमै पुगेर दीर्घरोगीको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिने बताउनुभयो। “पालिकावासीको स्वास्थ्य, शिक्षा, खानेपानीलगायत सबै समस्यालाई प्राथमिकताका आधारमा अघि बढाउने मेरो प्रयत्न रहनेछ, म जनताको अमूल्य मतको कदर गर्दै अघि बढ्ने छु,” अध्यक्ष कार्कीले भन्नुभयो। आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका पालिकावासीलाई स्थानीय सरकारले राहतस्वरूप यो कार्यक्रम ल्याएको उहाँको भनाइ छ। 

औषधि उपचार नपाएर कुनै पनि पालिकावासीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ। यसअघि औषधिको नाम टिपाउन छुटेका बिरामीले आफ्नो वडाअन्तर्गतका नजिकैको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्न अध्यक्ष कार्कीले अनुरोध गर्नुभएको छ। 

निःशुल्क औषधि पाएपछि दीर्घरोगीहरू खुसी भएका छन्। लिखुपिके–३ का चन्द्रप्रसाद दाहालले आफूले विगतदेखि नियमित सेवन गर्दै आएको औषधि गाउँपालिकाले निःशुल्क उपलब्ध गराउँदा खुसी लागेको बताउँदै गाउँपालिका अध्यक्षलगायत सबैलाई धन्यवाद दिनुभयो। 

उहाँ जस्तै नियमित औषधि सेवन गर्ने लिखेपिके–४ का गोपाल बस्नेतले भन्नुभयो, “नियमित औषधि सेवन गर्नुपर्दा खर्च धान्न निकै कठिन भएका बेला सरकारले यसरी निःशुल्क औषधि दिँदा जनप्रेमी स्थानीय सरकार ठानेको छु।” जनताको स्वास्थ्य जस्तो कुरामा सहयोग गर्नु ठूलो कुरा भएको उहाँको भनाइ छ। 

मधुमेह, थाइराइड, उच्च रक्तचाप, मुटुरोगीलगायत विभिन्न रोगका लागि एक सयभन्दा बढी किसिमका औषधि गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थाबाट लिन सकिने र अर्को महिनाबाट स्वास्थ्यकर्मी घरघरमा पुगेर स्वास्थ्य  जाँचसहित औषधि वितरण गरिने बताइएको छ।