• २३ असार २०८१, आइतबार

सुर्खेतमा ‘ए’ डिभिजन फुटबल कप हुने

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

नवीन सुवेदी 

सुर्खेत, पुस १० गते । सुर्खेतमा आगामी पुस २३ देखि सुर्खेत ‘ए’ डिभिजन फुटबल कप प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला फुटबल सङ्घ सुर्खेतको आयोजनामा प्रतियोगिता हुने भएको हो । चैतमा हुने जिल्ला लिगको तयारीका लागि पनि सहयोग हुने भएकाले प्रतियोगिता आयोजना गर्न लागेको सङ्घका अध्यक्ष रविन्द्र जङ चन्दले बताउनुभयो । 

१२ टिमको सहभागिता रहने प्रतियोगितामा २०७८ को जिल्ला लिगमा पनि १२ टिम सहभागी भएकाले त्यही टिमले यसमा सहभागी हुने अध्यक्ष चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी खेलाडीको इन्स्योरेन्स (एक्सिडेन्टल) अनिवार्य गरिएको सङ्घका सचिव सुनिल देवकोटाले बताउनुभयो । प्रतियोगिताको बारेमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै अध्यक्ष चन्दले प्रतियोगिताका लागि चिसापानी र सैनिक महाविद्यालय सुर्खेतको मैदानलाई छनोट गरिएको बताइएको छ ।

पुस ३० सम्म हुने प्रतियोगितामा विजेतालाई एक लाख र उपविजेतालाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै ‘म्यान अफ दि म्याच’लाई एक हजार र उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।