• ८ पुस २०८१, सोमबार

शैक्षिक सुधारका लागि इमानदार बन्न आग्रह

blog

लहान समाचारदाता

लहान, पुस १० गते ।  लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू विद्यालयको भौतिक र शैक्षिक विकासको लागि इमानदारीपूर्वक सक्रिय भइदिन आग्रह गर्नुभएको छ। 

गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि सरोकारवालाहरूसँग दलित जनकल्याण युवा क्लबद्वारा शनिबार लहानमा आयोजित कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

सम्पन्न लहान निर्माणको आधार नै शिक्षामा सुधार रहेकोले नगरपालिकामा रहेका ५९ वटै सामुदायिक विद्यालयको भौतिक शैक्षिक अवस्था सुधार गर्न विद्यालयका प्रधानाध्यापकहरू सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो। नगरप्रमुख चौधरीले भन्नुभयो, “कुल बजेटको २५ प्रतिशत (चार करोड पचास लाख) शिक्षामा विनियोजन गरी अभाव रहेका १३५ जना स्वयंसेवक शिक्षकहरू नगरपालिकाले व्यवस्था गरिसकेको छ। विद्यालयको शौचालय र कार्यालयको सुरक्षाका लागि पर्खाल निर्माणका लागि पुस महिनाको नगर सभाबाट थप दुई करोड रकम विनियोजन गर्दैछौँ।” 

प्रधानाध्यापक भनेको विद्यालयकोका लागि गाडीको चालक जस्तै रहेको नगरप्रमुख चौधरीले भन्दै प्रधानाध्यापक र विद्यालयका शिक्षकहरूको मनोबल उच्च बनाउन नगरपालिकाले आवश्यक स्रोत साधनको पूर्ति गर्न कुनै कन्जुस्याइँ नगर्ने विश्वास दिलाउनुभयो। 

मधेश प्रदेशका जिल्लाहरूमा ‘एक्सन एड’ संस्थाले गरेको अनुसन्धानमा ५० प्रतिशत विद्यालयहरूमा अझै शिक्षक दरबन्दी पूरा नभएको, ६३ प्रतिशत विद्यालयमा पुस्तकालय नभएको, ६१ प्रतिशत विद्यालयहरूमा प्रधानाध्यापकहरूले नेतृत्व गर्ने तालिम नलिएको पाइएको छ। यसैगरी ५५ प्रतिशतमा शुद्ध खानेपानीको अभाव, ३४.५ प्रतिशत मात्रै स्थायी शिक्षक भएको र ८३ प्रतिशत विद्यालयमा विज्ञान प्रयोगशाला नभएको पाइएको हो। सामुदायिक विद्यालयको सुधारका लागि स्थानीय सरकार, व्यवस्थापन समिति र प्रधानाध्यापकहरूको सक्रियता आवश्यक रहेको एक्सन एडका निर्देशक शिवनारायण चौधरीले प्रस्तुत गर्नुभएको कार्यपत्रमा उल्लेख छ। 

दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोदकुमार बिसुन्खेले विकन परियोजनाअन्तर्गत लहान नगरपालिकाका १७ वटा विद्यालयहरूमा सुविधा सम्पन्न शौचालय र खानेपानीको व्यवस्थापन गरिएको जानकारी दिनुभयो।