• २१ असार २०८१, शुक्रबार

पहेँलपुर बगैँचा, किसान दङ्ग

blog

बाबुराम देवकोटा

भोटेछाप (सिन्धुली), पुस १० गते । सिन्धुलीको कमलामाई नगरपालिका–३, भोटेछापका किसान जुद्धबहादुर राई यो वर्ष जुनार उत्पादन गत वर्षभन्दा बढ्ने भएपछि खुसीले फुरुङ्ङ हुनुहुन्छ । उहाँको १६ रोपनीको बगैँचा जुनार पाकेर यतिखेर पहेँलपुर छ । 

प्रकोपका रूपमा देखिएको औँसाकीरा (ब्याक्टोसेरा मिनाक्स) यो वर्ष नियन्त्रण भएकाले जुनार उत्पादन बढेको उहाँले बताउनुभयो । बगैँचामा जुनार स्याहार गर्दै भेटिनुभएका किसान राईले भन्नुभयो, “यतिखेर मेरो बगैँचामा चार सय बोट जुनार पाकेर पहेँलपुर भएको छ । गत वर्ष १४ मेट्रिक टन उत्पादन हुँदा करिब सात लाख रुपियाँ आम्दानी लिएको थिएँ । यो वर्ष २० मेट्रिक टनजति उत्पादन भएकाले आम्दानी पनि १० लाख रुपियाँ हुने अनुमान गरेको छु ।”

जुनार खरिद गर्न दैनिकजसो बगैँचामा नै व्यापारी पुग्ने गरेकामा भाउ नमिलेको भन्दै उहाँले बिक्री गर्नुभएको छैन । “व्यापारीले प्रतिकेजी ५५ रुपियाँमा जुनार खोजेका छन् । म ७० रुपियाँ भनिरहेको छु,” उहाँले भन्नुभयो । 

उहाँका अनुसार व्यापारीले किसानलाई दिएको मूल्यभन्दा झन्डै दोब्बरमा उपभोक्तालाई बिक्री गरिरहेका छन् । अहिले उपभोक्ताले व्यापारीसँग जुनार प्रतिकेजी ९० देखि एक सय रुपियाँसम्ममा खरिद गरिरहेका छन् । किसानसँग खरिद गरेर बिचौलियाले खाने प्रतिकेजी २० रुपियाँ आफूहरूले खोजेको किसानको भनाइ छ । 

त्यस्तै गोलन्जोर गाउँपालिका–४, तीनकन्याका किसान सुरेन्द्र ठकुरीले १६ रोपनी जमिनमा गर्नुभएको जुनार खेती बिक्रीयोग्य भएको छ । बोटमा लटरम्म फलेको जुनारको दाना देखेर उहाँ दङ्ग पर्नुहुन्छ । उहाँको बगैँचामा अहिले ३५० बोट जुनार र ३५० बोट सुन्तला छन् । उहाँले भन्नुभयो, “हरेक वर्ष मङ्सिरको दोस्रो हप्तादेखि माघको अन्तिमसम्म जुनार सुन्तलाले बगैँचा नै पहेँलपुर बन्ने गरेको र पहेँलपुर बगैँचाले जो कोहीलाई पनि लोभ्याउने गर्छ ।” हरेक वर्ष सिजनमा जुनार र सुन्तला बिक्री गरी आफूले १२ लाख रुपियाँभन्दा बढी आम्दानी लिँदै आएको सुनाउँदै परिवारको जीविकाको आधार नै अहिले जुनार खेती भएको उहाँले बताउनुभयो । 

जुनारको राजधानी भनेर चिनिने सिन्धुलीको महाभारत उत्तरतर्फका गाउँका बगैँचा मात्र होइन, यतिखेर बीपी राजमार्ग आसपासका बजार नै पहेँलपुर बनेका छन् । जुनार खेती गरेको स्थानसम्म कच्ची सडक पुगेको छ ।

यहाँका किसानले जुनार बिक्रीबाट बर्सेनि दुईदेखि २० लाख रुपियाँसम्म आम्दानी लिने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनका अनुसार जुनारमा औँसाकीरा नियन्त्रण गर्न विगत केही वर्षदेखि वैशाखको दोस्रो हप्तादेखि असोजको तेस्रो सातासम्म प्रोटिन बेट विषादी छर्किने गरेकाले यो वर्ष सिन्धुलीको जुनार औँसाकीरामुक्त रह्यो । सुपरजोन प्रमुख रमेश हुमागाईं अहिले जुनार बढाउने, जुनार–सुन्तला जोगाउने र जुनारबाट कमाउने गरी तीनवटा कार्यक्रम सञ्चालन हुँदै आएको बताउनुहुन्छ ।

जुनार बढाउने कार्यक्रमअन्तर्गत हरेक वर्ष ६० हेक्टर जमिनमा नयाँ बिरुवा रोप्ने, जुनार सुन्तला जोगाउने कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा जुनारको बोटमा औँसाकीरा नियन्त्रण गर्न विषादी छर्कने र जुनारबाट कमाउने कार्यक्रमअन्तर्गत समुदायस्तरमा १० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण रहेको उहाँले स्पष्ट पार्नुभयो । 

जिल्लामा यो वर्षसम्म करिब १४ हजार हेक्टर जमिनमा जुनार खेती भएको र त्यसमध्ये ७५० हेक्टरमा छ हजार मेट्रिक टन जुनार उत्पादन हुने अनुमान गरिएको जुनार सुपरजोनले जनाएको छ । उत्पादन भएको जुनारमध्ये हालसम्म ४० प्रतिशत किसानले बिक्री गरिसकेको र समग्र उत्पादनबाट किसानले ३३ करोड रुपियाँ आम्दानी लिने सुपरजोनको अनुमान छ । आठवटा वडामा व्यावसायिक रूपमा जुनार खेती हुँदै आएको सिन्धुलीको रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, वासेश्वर, मझुवा र दुम्जालगायतका स्थान जुनार खेतीका लागि पकेट क्षेत्र हुन् ।