• १३ मंसिर २०८१, बिहिबार

सरकार गठनको दाबी गर्ने अन्तिम दिन आज

‘गठबन्धनकै नेतृत्वमा सरकार’

blog

काठमाडौँ, पुस १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न आह्वान गर्नुभएको एक साताको समयसीमा आइतबार सकिँदै छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले पुस ३ गते दलहरूलाई प्रधानमन्त्री नियुक्त गर्न दिनुभएको समय आज साँझ ५ बजे सकिँदै छ । 

उहाँले प्रतिनिधि सभाका दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्तिका लागि गत शुक्रबार आह्वान गर्नुभएको थियो । नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिनुभएको समयसीमा सकिन लाग्दा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा छन् । 

सत्ता साझेदार पाँच दलले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र पारेका छन् । राष्ट्रपति भण्डारीले आह्वान गरेलगत्तै नियमित छलफलमा जुट्नुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सरकार गठन र शक्ति बाँडफाँटको औपचारिक सहमति जुटाउन संवादमा जुटिरहनुभएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार पनि शीर्ष नेताहरूबीच छलफल भएको छ । सरकारको नेतृत्वसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभापतिलगायतका पदमा जिम्मेवारी बाँडफाँटको विषयमा उहाँहरूबीच छलफल भएको छ । 

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार पाँच दलका शीर्ष नेताहरूबीच सहमतिको खाका निर्माण गर्ने सन्दर्भमा छलफल भइरहेको बताउनुभयो ।

गठबन्धनकै सरकारमा सहमति

सञ्चारमन्त्री कार्कीले संवैधानिक बाध्यताअनुसार आइतबारसम्ममा सरकार गठनका लागि दाबी गर्नुपर्ने भएकाले गठबन्धनका शीर्ष नेताहरू त्यही तयारीसाथ सहमति निर्माण गर्नेतर्फ केन्द्रित हुनुभएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “जनअभिमतलाई सम्मान गर्दै शान्ति, विकास र समृद्धिको जनचाहना पूरा गर्ने कार्यभारअनुरूप जनादेश पूरा गर्ने दिशातर्फ एकजुट भएर अघि बढ्ने विषयमा आ–आफ्ना दृष्टिकोण प्रस्तुत भएका छन् । गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुन्छ ।” उहाँले निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रममाथि गम्भीर रूपले छलफल भएको बताउनुभयो । साथै आगामी दिनमा कसरी जाने भन्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले जुन अभिमत प्रकट गरेका छन्, त्यसलाई सम्मान गर्दै अगाडि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ । छलफल मूल रूपमा राजनीतिक परिस्थितिको विषयमै केन्द्रित थियो ।”

‘प्रधानमन्त्री को भन्ने विषय गौण’

सञ्चारमन्त्री कार्कीले प्रधानमन्त्री पदमा को बस्ने भन्ने विषय आइतबार टुङ्गोमा पुग्ने बताउनुभयो । उहाँले आगामी सरकार जनआकाङ्क्षा पूरा गर्ने विषयमा बढी केन्द्रित हुनेगरी छलफल अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री को पहिले बन्ने भन्ने गौण कुरा हो । मुलुकलाई अहिले जनताको आकाङ्क्षाअनुसार कसरी अघि बढाउने भन्ने कुरा महत्त्वपूर्ण हो । र गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ ।”

कांग्रेसले ग-यो हस्ताक्षर सङ्कलन

निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले सरकार गठन प्रयोजनका लागि प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर सङ्कलन गरेको छ । कांग्रेसले प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार मध्याह्न सांसदहरूको हस्तक्षर गराएको हो । 

निर्वाचनमा कुनै दलको एकल बहुमत नआएकाले अब दुई वा दुईभन्दा बढी राजनीतिक दलले बहुमत दाबी गरेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुहुनेछ । 

प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी २७५ सदस्य रहनेछन् । नयाँ सरकार गठनका लागि संसद्मा १३८ सांसद चाहिन्छ । निर्वाचन परिणामअनुसार पहिलो दल नेपाली कांग्रेसले प्रत्यक्षमा ५७ सहित ८९ सिट जितेको छ । एमालेको ४४ प्रत्यक्षसहित ७८ र माओवादी केन्द्रको प्रत्यक्षमा १८ सहित ३२ सिट छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सातसहित २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा सातसहित १४, जनता समाजवादी पार्टीले प्रत्यक्षमा सातसहित १२ सिट जितेको छ । 

एकीकृत समाजवादीले प्रत्यक्षमा १०, जनमत पार्टीले प्रत्यक्षमा एकसहित छ सिट, लोकतान्त्रिक समाजवादीले प्रत्यक्षमा चार सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चाले एक, नेपाल मजदुर किसान पार्टीले एक र पाँच जना स्वतन्त्र प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।