गोपी ज्ञवाली
नवलपरासी, पुस ९ गते । नेपाल सरकार उद्योग मन्त्रालयको योजनाअनुसार पश्चिम नवलपरासीको सुनवल औद्योगिकग्रामको काम तीन वर्षमा पर्खालसम्म बन्न सकेको छैन । २०७६ सालदेखि निर्माणाधीन अवस्थामा रहेको सुनवल नगरपालिका चारघरेको औद्योगिक ग्राम तीन वर्षमा औधोगिकग्रामको पर्खाल पनि निर्माण सम्पन्न नभएको हो ।
सुनवल नगरपालिकाका इन्जिनियर सन्तोष गैरेका अनुसार सुनवलमा निर्माणाधीन रहेको औद्योगिकग्रामका लागि अर्थ मन्त्रालयले सुनवल नगरपालिकाको खातामा दुई पटक गरी १ करोड ८४ लाख रुपियाँ पठाएको थियो । स्थानीय सरकारको अवज्ञाका कारण औद्योगिक ग्रामको काम कम्पाउन्ड वालमा अडेको छ ।
औद्योगिकग्राम स्थापनाका लागि सुनवल नगरपालिकाको वाड ४ स्थित चारघरेमा तुरिया खोलाको किनारामा १२ बिघा जमिन छुट्याएको छ । औद्योगिक ग्राम निर्माणका लागि अर्थ मन्त्रालयले दुई पटक ९२ लाखको दरले १ करोड ८४ लाख रुपियाँ विनियोजन गरेको भए पनि स्थानीय सरकारको ढिलासुस्तीका कारण १६ लाख रुपियाँ अझै नगरपालिकामा बाँकी रहेको छ ।
औद्योगिक ग्रामको पूर्वाधार तयार पार्नेक्रममा पहिलो चरणमा कम्पाउन्डवाल निर्माण गर्नका लागि विएसके निर्माण कम्पनीले ठेक्का लिएको म्याद गत चैत मसान्तमा सकिएको थियो । औधोगिकग्राम निर्माणका लागि सुनवल नगरपालिकाले २५ करोड ६५ लाख रुपियाँको समग्र योजना अर्थ मन्त्रालयलाई बुझाएको थियो ।
सुनवल नगरपालिकाका इन्जिनियर गैरेका अनुसार पहिलो चरणमा औद्योगिक ग्रामका लागि आवश्यक पर्ने पूर्वाधार जसमा नगरपालिकाले छुट्याएको जमिनको चारदिवारी निर्माण, औद्योगिक क्षेत्रमा आवश्यक पर्ने विद्युतीकरण, औद्योगिक ग्रामको क्षेत्र भित्रको आन्तरिक सडक निर्माण, ढल निकास, साना र भित्री गल्लीहरूमा ब्लक बिछाउने लगायतका कामहरू सुरु गरिने बताइएको छ ।