• १२ मंसिर २०८१, बुधबार

नेपालगञ्ज भूकम्पको उच्च जोखिममा

blog

पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण कार्यक्रममा बोल्दै मेयर विष्ट । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, पुस ९ गते । नेपालगञ्ज उपमहानगरका अधिकांश घरहरू भूकम्पको उच्च जोखिममा रहेको पाइएको छ । उपमहानगरको पुरानो बस्ती र मापदण्ड विपरीत निर्माण भएका अधिकांश घर भूकम्पको अत्यधिक जोखिममा रहेको पाइएको हो । 

पश्चिमको कुनै पनि क्षेत्रमा आठ दशमलव छ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका तीन हजार घर ध्वस्त हुन सक्ने बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययनमा उल्लेख भएको भूकम्पीय विपद् तथा पूर्वतयारी आयोजनाका परामर्शदाता गेहेन्द्र बमले बताउनुभयो । 

उहाँका अनुसार उपमहानगरपालिकामा मात्रै ११ हजार आठसय बढी मानिस भूकम्पको जोखिममा रहेको अध्ययनमा जनाइएको छ । यसबाट सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका र अशक्त पीडित हुनेछन् ।  

भूकम्पलगायत अन्य विभिन्न प्रकारका विपदबाट जोगिन र जोगाउन उपमहानगरले पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरिरहेको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा उपमहानगरपालिकामा सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना अन्तर्गत पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको सो परियोजनाका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि परियोजनाले आयोजना गरेको बृहत् कार्यक्रममा बोल्दै नेपालगञ्जका मेयर प्रशान्त विष्टले नेपालगञ्ज भूकम्पको उच्च जोखिममा रहेकाले जोखिम हटाउन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण भइरहेको बताउनुभयो । 

जोखिममा रहेका घरहरूको बीमा गर्ने विषयमा उपमहानगर सक्रिय रहेको जनाउँदै सो बारेमा बीमा कम्पनीसँग छलफल भइरहेको पनि बताउनुभयो । सो कार्यक्रममा उपमहानगरका उपमेयर कमरुद्दीन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा अध्यक्ष्यहरु, कार्यपालिकाका सदस्यहरू, विषयगत कार्यालयका प्रतिनिधि र आठ वटै क्लस्टरका प्रतिनिधिको सहभागिता रहेको थियो । 

नेपाल रेडकस सोसाइटी, नेपालगञ्ज शाखाका सभापति गोवर्द्धन सिंहले भूकम्पीय जोखिमलगायत विपद्को सामना गर्न स्थानीय सरकारको छुट्टै योजना हुनुपर्ने हुँदा सोही निर्माण भइरहेको बताउनुभयो । भूकम्पको जोखिम न्यूनीकरणका लागि उपमहानगरपालिका र आसपासका सहरी क्षेत्रमा भूकम्पीय विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि स्थानीय तह लगायत सरोकारवाला संस्थाले योजना निर्माणमा जोड दिनुपर्ने सिंहको भनाइ छ । 

नेपालगञ्ज उपमहानगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक वसन्तकुमार कनौजियाले वडा नम्बर ३ र ७ भूकम्पको उच्च जोखिममा रहेकाले तत्काल ती ठाउँबाट बीमाको थालनी गर्नेगरि योजना बनिरहेको बताउनुभयो ।