रमेश विश्वकर्मा
गुल्मी, पुस ९ गते। गुल्मीका केही प्रहरी चौकी तथा अस्थायी प्रहरी पोष्ट आफ्नै भवन नहुँदा भाडामा बस्दै आएका छन्। कतै आफैँ र कतै स्थानीय तहको समन्वयमा भाडामा बस्दै आएका हुन्। जिल्लामा रहेका प्रहरी चौकी तथा अस्थायी प्रहरी पोष्टको आफ्नै भवन नहुँदा भाडामा बस्नुपर्दा कार्यसम्पादनमा निकै समस्या आएको पाइएको छ।
यस जिल्लामा अहिले चार प्रहरी चौकी र एक जिल्ला ट्राफिक प्रहरीको कार्यालय भाडामा रहेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अर्जुन रानाभाटका अनुसार प्रहरी चौकी इस्मा, प्रहरी चौकी भुर्तङ्ग, प्रहरी चौकी पुर्तिघाट, अस्थायी प्रहरी पोष्ट देउराली र जिल्ला ट्राफिक प्रहरी कार्यालय भाडाको भवनमा बस्दै आएका छन्।
त्यस्तै, अस्थायी प्रहरी पोष्ट धनार्जे र प्रहरी चौकी बर्बोट स्थानीय तहको समन्वयमा भाडामा बस्दै आएको छ। अस्थायी प्रहरी पोष्ट धनार्जेलाई इस्मा गाउँपालिका र प्रहरी चौकी बर्बोटलाई धुर्कोट गाउँपालिकाले भाडाको लागि सहजीकरण गरेको छ। यसरी प्रहरी चौकीको आफ्नै भवन तथा जग्गा नहुँदा सुरक्षाकर्मीको खाने बस्ने ठाउँ समेत अनुकूल नभएमा सुरक्षाको कार्यसम्पादनमा ठुलो समस्या आउने गरेको उहाँले बताउनुभयो।
“जिल्ला प्रहरी कार्यालय गुल्मी, इलाका प्रहरी कार्यालय रिडी, पुर्कोट दह, जोहाङ, चन्द्रकोटको आफ्नै भवन र जग्गा रहेको छ।” प्रहरी उपरीक्षक रानाभाटले भन्नुभयो, “मर्भुङ्ग, चारपाला, धुर्कोटवस्तु, वामटिक्सार र श्रृङ्गा प्रहरी चौकीको पनि आफ्नै जग्गा र भवनबाट सञ्चालित छ।”
“भुर्तुङ्ग, पूर्तिघाट, हस्तिचौर, इस्मा, मजुवा, नयाँगाउँ, पौदीअमराइ प्रहरी चौकी र अस्थायी प्रहरी पोष्ट देरालीको आफ्नै जग्गा भए पनि भवन निर्माण हुन सकेको छैन”, उहाँले भन्नुभयो,“अर्खाबाङ्ग, खज्र्याङ्ग, जैसीथोक बर्बोट प्रहरी चौकी र अस्थायी प्रहरी पोष्ट धनार्जेको जग्गा र भवन दुवै छैन।” प्रहरी चौकी रुरु र प्रहरी चौकी गौडकोट स्थापना गर्ने पक्रिया रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालयको नाममा रहेको जग्गामा जिल्ला ट्राफिक प्रहरी भवन निर्माण भइरहेको छ। आफ्नो जग्गा र भवन नभएका चौकी विभिन्न सरकारी भवनमा बस्दै आएका छन्। जग्गा नभएको स्थानमा र अपुग जग्गाको लागि पनि स्थानीय तहसँग समन्वय गरेर जग्गा प्राप्तिको लागि पक्रिया अगाडी बढाउने प्रहरी उपरीक्षक रानाभाटले बताउनुभयो।