जनार्जन खत्री
सर्लाही, पुस ९ गते । सरकारले उखुको मूल्य निर्धारण नगर्दै चिनी उद्योग धमाधम सञ्चालनमा आउन थालेका छन् । मुलुकमै सबैभन्दा धेरै उखु खेती हुने र धेरै चिनी उद्योग रहेको सर्लाहीमा दुईवटा चिनी उद्योग सञ्चालनमा आएका छन् ।
हरिवनको इन्दुशङ्कर चिनी उद्योग र बगदहको महालक्ष्मी चिनी उद्योगले उखु क्रसिङ थालेका हुन् । धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग भने सञ्चालनबारे अन्योल छ । देशकै सबैभन्दा ठूलो क्षमताको इन्दुशङ्कर चिनी उद्योगले दैनिक ५० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता राख्ने उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । उति नै क्षमता रहेको महोत्तरी, गौशालाको एभरेस्ट सुगर मिल सञ्चालनमा आइसकेको छ । सर्लाही, महोत्तरी, सिरहा, बारालगायत तराईका जिल्लाका सबैजसो चिनी उद्योग केही दिनअघिदेखि सञ्चालनमा आएका हुन् ।
उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनमा आउँदा किसान भने निराश भएका छन् । बिनामूल्य उधारोमा बेच्नुपर्ने अवस्था आएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले गुनासो गर्नुभयो । उखुको मूल्य तोक्न सरकारले बेवास्ता गरेको उहाँको आरोप छ ।