• ११ मंसिर २०८१, मङ्गलबार

‘युक्रेन अझै जीवन्त र सक्रिय छ’

blog

वासिङ्टन, पुस ७ गते । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सबै प्रतिकूलता र विनाश र निराशाका बाबजुद युक्रेन जीवन्त र सक्रिय रहेको बताउनुभएको छ ।

स्थानीय समयअनुसार बुधबार अमेरिकी संसद् सदस्यहरूलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सबै प्रतिकूलता, विनाश र निराशाका बाबजुद युक्रेन पतन भएको छैन । युक्रेन अझै जीवन्त र सक्रिय छ ।”

रूसले युक्रेनमाथि आक्रमण गरेपछि भएको राष्ट्रपति जेलेन्स्कीको पहिलो विदेश भ्रमणका क्रममा उहाँले भन्नुभयो, “अमेरिकी काङ्ग्रेसमा तपाईँ र सबै अमेरिकीसँग कुरा गर्न पाउनु ठूलो सम्मानको कुरा हो । सबै बाधाहरू, र विनाश र निराशाको विरुद्ध, युक्रेन पतन भएको छैन ।”

उहाँले भन्नुभयो, “हामीलाई कुनै डर छैन, युक्रेनले आक्रमणको पहिलो चरण जितिसकेको छ । रुसी निरंकुशताले हामीमाथिको नियन्त्रण गुमाइसकेको छ ।”

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समकक्षी जो बाइडेनसँगको भेटवार्तापछि अमेरिकी संसद्का सदस्यहरूलाई सम्बोधन गर्नुभएको हो । भेटवार्तामा अमेरिकी राष्ट्रपति वाइडेनले युक्रेनलाई निरन्तर समर्थन गर्ने आश्वासन दिनुभएको थियो ।

जेलेन्स्कीले अमेरिकी संसद्लाई सम्बोधन गर्ने क्रममा युक्रेनमा रुसको युद्धलाई नजरअन्दाज गर्न विश्व निकै अन्तरसम्बन्धित रहेको बताउनुभयो ।

उहाँले थप्नुभयो, “समुद्र वा अन्य कुनै कुराले सुरक्षा प्रदान गर्नेछ भन्ने आशामा यो युद्धलाई रोक्न वा स्थगित गर्न सकिँदैन ।”

“संयुक्त राज्य अमेरिकादेखि चीनसम्म, युरोपदेखि ल्याटिन अमेरिकासम्म र हरेक देशबाट अस्ट्रेलियासम्म, संसार यति धेरै अन्तरसम्बन्धित र अन्योन्याश्रित छ कि कसैलाई अलग रहन र यस्तो युद्ध जारी रहँदा पनि अझै सुरक्षित महसुस गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा दुई मुलुक यो लडाइँमा परस्पर सहयोगी छन् र मलाई थाहा छ युक्रेनी साहस र अमेरिकी सङ्कल्पले गर्दा अर्को वर्ष एउटा ‘टर्निङ प्वाइन्ट’ ल्याउनेछ । आफ्नो मूल्यमान्यताको पक्षमा उभिने मानिसको स्वतन्त्रताले हाम्रो साझा स्वतन्त्रताको भविष्यको सुनिश्चितता गर्नुपर्दछ ।”

युक्रेनी जनताका लागि आशाको सन्देश दिँदै उहाँले भन्नुभयो, “रुसीहरूले बाख्मुत जस्ता शहरहरूविरुद्ध ‘सबै कुरा प्रयोग गर्छन्’ तर युक्रेनले ‘कहिल्यै आत्मसमर्पण गर्दैन ।”

जेलेन्स्कीले रुसलाई चेतावनी दिँदै भन्नुभयो, “रुसीहरूले ‘दिनरात ७० हजार मानिसहरूको सहर कब्जा गरिरहेका छन्, तर बखमुत खडा छ ।”

युद्धको ३०० दिनभन्दा बढी भइसक्दा पनि युक्रेनका सैनिकहरूले आफ्नो देशको रक्षा गरिरहेका छन्, तर उनीहरूलाई युद्धभूमिमा जित्नका लागि थप हतियारको आवश्यकता छ, जेलेन्स्कीले सम्बोधनका क्रममा भन्नुभयो ।

युक्रेन आफ्नो स्वतन्त्रता र अस्तित्वका लागि लडिरहेको बताउँदै जेलेन्स्कीले भन्नुभयो, “ती लक्ष्य हासिल गर्न संयुक्त राज्य अमेरिकाको निरन्तर सहयोग आवश्यक रहनेछ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले जेलेन्स्कीसँगै एक पत्रकार सम्मेलनमा युक्रेनलाई निरन्तर सहयोग गर्ने आश्वासन दिँदै अमेरिकाले थप १.८ अर्ब अमेरिकी डलरको सहायता प्याकेजअन्तर्गत कीभलाई प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पठाउने घोषणा गर्नुभएको थियो ।

जेलेन्स्कीले अमेरिकीहरूलाई सहयोगका लागि धन्यवाद दिँदै रुसी आक्रमणको सामना गर्न हवाई प्रतिरक्षा प्रणाली महत्त्वपूर्ण रहेको दोहोर्‍याउनुभयो । रासस/एएनआई