• ८ जेठ २०८१, मङ्गलबार

नवनिर्वाचित सांसदको स्वागतमा जलपान

blog

शपथका लागि संसद् हलमा उपस्थित हुनुभएका नवनिर्वाचित सांसदहरु । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस ७ गते । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ । नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले जलपान समारोह आयोजना गरेको हो ।

यसअघि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ समारोहको अगाडि संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सबै नवनिर्वाचित सबै सांसदलाई स्वागत, बधाई एवम् शुभकामना व्यक्त गर्नुभएको थियो ।

महासचिव डा. गौतमले शपथपत्रमा हस्ताक्षर तथा सङ्घीय संसद्को प्रतीक चिह्न ‘लोगो’ लगाउन आग्रह गर्नुभएको थियो । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक प्रणालीबाट निर्वाचित ११० गरी कुल २७५ सांसद छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन गत मङ्सिर ४ गते सम्पन्न भएको हो ।