सिद्धार्थनगर समाचारदाता
सिद्धार्थनगर, पुस ७ गते । बुटवल मण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सो केन्द्रको पश्चिमतर्फ एक अर्ब दुई करोड रुपियाँ लागतमा प्रदर्शनी केन्द्रको निर्माण कार्य जारी छ।
अहिले करिब ७२ प्रतिशत काम सम्पन्न भइसकेको निर्माण आयोजनाले जनाएको छ। यो ६ दशमलव ४ बिघा क्षेत्रफलमा फैलिएको छ। सहरी विकास मन्त्रालयबाट निर्माण गरिएको प्रदर्शनी केन्द्र नेपालको सबैभन्दा ठूलो प्रदर्शनी केन्द्र भएको दाबी गरिएको छ। यहाँ एउटा ठूलो प्रदर्शनी हलका साथै दुईवटा बैठक हल, प्रशासनिक भवन र खाजा घर, टिकट काउन्टर र फूलबारी बगैँचालगायतको निर्माण कार्यलाई तीव्र पारिएको छ।
करिब १२ हजार स्क्वायर मिटरमा निर्माण जारी ठूलो प्रदर्शनी हलमा चार स्क्वायर मिटरका साढे तीन सय स्टल अटाउँछन्। बैठक कक्ष भने एउटा साढे तीन सय स्क्वायर मिटर र अर्को साढे दुई सय मिटर स्क्वायर मिटरका निर्माण भइरहेका छन्। यी सबै कक्षको निर्माणकार्य सम्पन्न हुँदा झन्डै साढे आठ सय स्टल राखेर मेला सञ्चालन गर्न सजिलो हुनेछ। बाहिरबाट हेर्दा तीनवटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रमा आवश्यकताअनुसार अलग/अलग गर्न मिल्ने गरी डिजाइन गरिएको छ। जहाँ प्रदर्शनी कक्ष र बैठक कक्षमा गरेर करिब २० हजार जनाले अवलोकन गर्न सक्नेछन्।
निर्माण कम्पनी क्यापासिट इन्फ्रा प्रोजेक्ट्स–गौरी पार्वती जेभीका अध्यक्ष रामकुमार थापाले निर्धारित मितिमै काम सकेर हस्तान्तरण गर्ने तयारी भइरहेको बताउनुभयो। बुटवल मण्डपका लागि जग्गा छुट्याएपछि परिसर पर्खाल निर्माण गर्दा नै बुटवल उपमहानगरपालिकासँगै रुपन्देही उद्योग सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ र रुपन्देही व्यापार सङ्घले सुरुवाती पाँच/पाँच लाख रुपियाँ लगानी गरेको बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजुले बताउनुभयो।
बुटवल मण्डपलाई गिरिजाप्रसाद कोइराला बुटवल मण्डप नामकरण गर्ने प्रस्ताव गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो।
यो प्रदर्शनी केन्द्रको पूर्वअर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णु पौडेलले २०७६ साल जेठमा शिलान्यास गर्नुभएको थियो। २७ महिनामा निर्माण सम्पन्न गर्ने गरी थालिएको काम अझै सकिएको छैन। २०८० साल असार मसान्तभित्र काम सकेर हस्तान्तरण गरिने निर्माण आयोजनाको तयारी छ।