• २३ असार २०८१, आइतबार

प्रदेश सांसदहरूको शपथग्रहण छिट्टै

blog

विराटनगर समाचारदाता

विराटनगर, पुस ७ गते । प्रदेश १ को प्रदेश सभा सचिवालयले आगामी सोमबार ११ गते प्रदेशका सांसदहरूको शपथ गराउने भएको छ।  प्रदेश सभा सचिवालयले मङ्गलबार सूचना प्रकाशित गरेर शपथग्रहणका बारेमा जानकारी गराएको हो। प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले प्रकाशन गरेको सूचनामा सोमबार दिउँसो १:३० बजे हुने शपथग्रहण कार्यक्रममा अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ। 

शपथग्रहण गर्न आउँदा नवनिर्वाचित सांसदले निर्वाचन आयोगले प्रदान गरेको प्रदेश सभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि र दुईप्रति फोटो ल्याउन आग्रह गरेको छ। 

प्रदेश १ मा ७९ वर्षे ज्येष्ठ सदस्य गयानन्द मण्डलले सांसदहरूलाई शपथ गराउनुहुनेछ। मण्डल नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (१) प्रदेश सभामा निर्वाचित हुनुभएको हो। मण्डलले पुस ११ गते सोमबार १२:३० बजे प्रदेश प्रमुखबाट शपथ लिनुहुनेछ। 

प्रदेश सभा सदस्यहरूको शपथको सूचना प्रकाशन भएसँगै प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले संसदीय दलको नेता छान्ने प्रक्रिया त्यसअघि नै सुरु गर्ने जनाएका छन्। 

नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता तथा प्रदेश सभा सदस्य हिक्मतकुमार कार्कीले पुस ११ गतेभित्रै दलको नेता छानिने जानकारी दिनुभयो। यस्तै नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले पुस ९ वा ११ गते दलको नेता छान्ने तयारी भइरहेको जानकारी दिनुभयो। नेकपा (माओवादी केन्द्र)का नेता तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभा सदस्यको शपथग्रहणपछि मात्र दलको नेता चयन गर्ने बताउनुभयो।