• ३० वैशाख २०८२, मङ्गलबार

भन्सार छली ल्याइएको ३११ बोरा चामल बरामद

blog

भन्सार छली भित्र्याइएकोे ३११ बोरा चामल प्रहरीले गाडीमा राख्दै । तस्बिर : दिपकप्रसाद गौतम

दिपकप्रसाद गौतम

वीरगञ्ज, पुस ६ गते । प्रहरीले पर्साको ग्रामीण क्षेत्रको नेपाल–भारत सीमावर्ती बजार भिस्वाको एक चामल गोदाममा छापामारी गरी भन्सार छली भित्र्याइएको आशंकामा ३११ बोरा चामल बरामद गरेको छ ।

जिल्ला स्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको सयुक्त टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वा बजारमा रहेको बिस्मिल्लाहा मियाँ तेलीको गोदाममा छापामारी गरी राजश्व छली ल्याइएको आशंकामा भारतीय चामल बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष बस्नेतका अनुसार भारतबाट अवैधरुपमा ल्याएर राखिएको सूचनाको आधारमा संयुक्त प्रहरी टोलीले भारतीय नागरिक फिरोज मियाँको चामल गोदाममा छापामारी गरेको हो ।

बिस्मिल्लाहा मियाँ तेलीको गोदाम भारतीय नागरिक फिरोजले भाडामा लिई चामल भण्डारण गरी राखेको सुचनाको आधारमा पुग्दा २० किलो ग्राम सोना स्टीम चामल रहेका ३ सय ११ बोरा बरामद भएको उहाँले गोरखापत्र अनलाइनलाई बताउनु भयो । 

बरामद गरिएको चामल वीरगञ्ज भन्सार कार्यालय ल्याइएको सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले जनाउनु भयो । भन्सार अधिकृत खगेन्द्र साहले २० किलो अन्य बोरामा बासमती चामल रहेको उहाँले जानकारी दिनुभयो ।