• १३ साउन २०८१, आइतबार

चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

blog

सर्वोच्च अदालत । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ६ गते। हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका चार्ल्स  शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बुधबार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आज नै कैदबाट मुक्त गर्न आदेश दिएको हो। 

ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा चार्ल्स शोभराजले पनि पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो। इजलासले आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत आदेश दिएको छ। 

अदालतको आदेशमा ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा दिएर छोड्न भनिएको छ। शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए। 

जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ। उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको जिकिर थियो। 

शोभजारको जिकिरलाई अदालतले स्वीकार गरेको छ। १९ वर्ष कैद सजाय भोगिसकेको ७८ वर्ष उमेरको वृद्ध व्यक्तिलाई कानुन प्रदत्त सुविधा तत्काल प्रदान नगरिएको र निजको संविधान प्रदत्त बाँच्न पाउने हक र एकान्त कारावास विरुद्धको हकमा समेत असर पर्न गएको सर्वोच्चले बताएको छ।