• ६ जेठ २०८१, आइतबार

‘उपचार गर्ने पैसा छैन, टालो बाँधेर घाउ लुकाउँछु’

blog

उपचार गर्न पैसा नभएपछि टालो बाँधेर घाउ लुकाउँदै कपिलवस्तु बुद्धभुमि –३ का तौलेश्वर थारु । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, पुस ६ गते । “जोड्दै गरेको इँटा खसेर दायाँ तिघ्रामा लागेको थियो । सामान्य चोट होला भनेर स्थानीय मेडिकलमा उपचार गरेँ । निको नभएपछि थप उपचारका लागि बुटवल पुगेँ । हामीजस्तो विपन्न परिवारको मानिसलाई उपचार गर्न कठिन भयो” कपिलवस्तुको बुद्धभुमि –३ टाँकुका ५५ वर्षीय तौलेश्वर थारुले टालाटुलीले छोपेको घाउ देखाउँदै पीडा सुनाउनुभयो ।

उहाँको तिघ्राको हड्डी निकालेर रड राखिएको छ । रड राख्दाको घाउ अझ ठूलो भएको छ । रड वरिपरिको घाउबाट पिप निस्किन्छ । तर उहाँसँग घाउमा लगाउने मलमपट्टी किन्ने पैसा छैन । उपचारका लागि रकम जोहो गर्न नसक्दा तौलेश्वर टालाटुली बाँधेर घाउ लुकाएर बस्दै आएको बताउनुभयो ।

चार कट्ठा जग्गा बेचेर उहाँले रड राखेको सुनाउनुभयो । रड राखेपछिको घाउ पुरिएको छैन । घटनाको समय थाहा नभएको र अन्दाजी ५ वर्ष कटेको तौलेश्वरको छोरा भागिरामले बताउनुभयो ।

एक वर्षपछि उपचार

चोट लागेपछि स्थानीय क्लीनिकमा उपचार गराउँदा हड्डी कुहिएपछि रड राख्नुपरेको उहाँको भनाइ छ । एक वर्षसम्म गाउँघरतिर उपचार गराएको उहाँले सुनाउनुभयो । बाहिर लैजान पैसा थिएन । चितवनमा उपचार गराउँदा हड्डी कुहिएको थाहा भयो उहाँले भन्नुभयो । जग्गा बेचेर आएको लगभग आठ लाख रकम खर्चगरी कुहिएको हड्डीको भाग काटेर रड राखिएको उहाँले बताउनुभयो । रड राखिएपछि अहिलेसम्म डाक्टरसँग चेकजाँच नभएको उहाँले सुनाउनुभयो ।  

तौलेश्वरको स्याहार सुसार पत्नी कमली थारुले गर्दै आउनुभएको छ । उहाँले घाउ सफा गर्ने औषधीको सट्टा जडीबुटीको झोल लगाएर घाउ सफा गर्दै आउनुभएको छ । एक जना वैद्यबाट क्यान्सरबाट रोक्ने ओखती भनेर लिएको उहाँको भनाइ छ । घाउ सफा गरेको टालो धोएर घाममा सुकाएर पुनः प्रयोग गर्दै आउनुभएको छ । 

अघिल्लो वर्षसम्म स्वास्थ्य चौकीमा गएर घाउ सफा गर्ने औषधी लगाउने गरे पनि अहिले पैसाको अभावमा उपचार गराउन नसकिएको उहाँले बताउनुभयो । अहिले जडीबुटी ओखती प्रयोग गर्न थालेको उहाँले बताउनुभयो ।  

ह्वीलचेयरको सहारा 

लामो समयदेखि अपाङ्गता भएको थाहा पाएपछि स्थानीय बाल समूहको पहलमा ह्वीलचेयर पाएको उहाँले बताउनुभयो । रनगाई आशा सञ्जालले किडार्क नेपालको सहयोगमा ह्वीलचेयर प्रदान गरेको थियो । त्यो पाएपछि हिँडडुल गर्न सजिलो भएको तौलेश्वरले बताउनुभयो । ह्वीलचेयरले हिँडडुल गर्न सहज बनाएको उहाँको भनाइ छ । खुट्टाको घाउ निको नहुँदा क्यान्सर हुने डर पलाएको उहाँले बताउनुभयो ।  

उहाँले यसअघि इँटाको गारो लगाएर परिवारको गर्जो टार्दै आउनुभएको थियो । घाउ भएपछि त्यो काम पनि छुटेको छ । भएको जग्गा जमिन बिक्री भइसक्यो, घाउ निको भएन उहाँले भन्नुभयो, “अब बचेको यही कच्ची घर र घर भएको जग्गा हो ।” वडा नम्बर ३ का वडा अध्यक्ष गोविन्दप्रसाद आचार्यले तौलेश्वर अति विपन्न भएको हुँदा सहयोग सङ्कलन गरेर भए पनि उपचार गर्नुपर्ने बताउनुभयो ।