• १२ मंसिर २०८१, बुधबार

खाद्य व्यवस्थाले बाँकेबाट २५ हजार क्विन्टल धान खरिद गर्ने

blog

खाद्य व्यवस्था कम्पनीमा किसानको धान खरिद गरिदै । तस्बिर : सिराज खान

सिराज खान

नेपालगञ्ज, पुस ६ गते । बाँकेमा खाद्य व्यवस्था कम्पनी लिमिटेडले धान खरिद सुरु गरेको छ । जिल्लाका किसानले पहिलेदेखि धान खरिद गर्ने माग गर्दैआए पनि अहिले आएर मात्र धान खरिद सुरु गरिएको हो । 

बाँकेका आठ वटै स्थानीय तहबाट धान बिक्रीको सिफारिस लिएर आउने किसानबाट सरकारले तोकेको मूल्यमा धान खरिद सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो । 

यस वर्ष बाँकेलाई २५ हजार क्विन्टल धान खरिदको कोटा प्राप्त भएकाले कोटाअनुसार धान खरिद गरिने उहाँले बताउनुभयो । 

एक जना किसानसँग ३० क्विन्टल धान खरिद गरिने र एक दिनमा १० जना किसानको मात्र धान खरिद गर्ने कार्यपालिका बनाएर धान खरिद सुरु गरिएको कम्पनीका प्रमुख लामिछानेले बताउनुभयो । 

‘पहिले टाठाबाठा भएका किसानले मात्रै कुपन पाउने र उनीहरूले मात्रै धान बेच्ने हुन्थ्यो, अहिले वास्तविक किसानको पहिचानका आधारमा धान खरिद सुरु गरेका छौँ’ उहाँले भन्नुभयो । 

प्रमुख लामिछानेका अनुसार गत वर्ष भिजेको धान धेरै आएकाले २३ सय क्विन्टल मात्र धान खरिद गर्न सकिएकाले लक्ष्य पूरा हुन सकेको थिएन । यस वर्ष धानको उत्पादन राम्रो भएका कारण लक्ष्य हासिल हुने उहाँले बताउनुभयो । 

खाद्य व्यवस्था कार्यालयमा धान बेच्न आउनु भएका जानकी गाउँपालिकाका किसान जीवन शाहीले सरकारले निकै ढिलो धान खरिद सुरु गरेको बताउनुभयो । जतिबेला किसानलाई बीउ र मलखाद आवश्यक पर्छ त्यो बेला धान खरिद गर्दा किसानले राहत पाउने उल्लेख गर्दै उहाँले अर्को पटक समयमा नै किसानको धान खरिद गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । 

सरकारले धान खरिदमा ढिलाइ गर्दा बिचौलियाका कारण किसान मर्कामा परेको डुडुवाका किसान रमेश मौर्यले बताउनुभाये । ‘जसले मल र बीउ खरिद गर्न बाध्य भए उनीहरूले न्यून मूल्यमा सुरुमा नै धान बेचे’ किसान मौर्यले भन्नुभयो । 

यसअघि धान खरिदमा ढिलाइ गरिँदा मूल्य नपाएपछि अखिल नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसी र नेपाल किसान सङ्घका केन्द्रीय सदस्य धनमाया लुइँटेलले संयुक्त रूपमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा पुगी किसानको धान छिटो खरिद गर्न ज्ञापनपत्र बुझाएका थिए । 

सरकारले यस वर्ष मोटा धानको समर्थन प्रतिक्विन्टल मूल्य दुई हजार नौ सय ६७ रुपियाँ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ रुपियाँ तोकेको छ ।