• १२ मंसिर २०८१, बुधबार

सुन्तलाबारी होमस्टेका सञ्चालकलाई खाना पकाउने तालिम

blog

सुन्तलाबारी होमस्टेका सञ्चालकहरु स्थानीय स्तरमा नै उत्पादन भएका वस्तुहरु पकाउने तालिम लिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, पुस ६ गते । पाहुनालाई कसरी खुसी बनाउने तथा मीठो परिकार कसरी खुवाउने भन्ने चिन्ता कम भएको भन्दै स्याङ्जाको वालिङ नगरपालिका –४, खाल्टेमा रहेको सुन्तलाबारी होमस्टेका सञ्चालक खुसी भएका छन् । 

सुन्तलै सुन्तलाको गाउँको रूपमा परिचित रहेको होमस्टेसम्म आउने पर्यटकको आकर्षण राम्रो छ, तर आउने पाहुनालाई कसरी सन्तुष्ट बनाएर पठाउने भन्ने चिन्तामा उहाँहरू हुनुहुन्थ्यो ।  

स्थानीयस्तरमै उत्पादन भएको वस्तुबाट कसरी मीठो र स्वास्थ्यकर खानेकुरा पकाउन सकिन्छ भन्नेबारे होमस्टे सञ्चालकले पाँचदिने तालिम लिएका छन् । तालिम लिइसकेपछि उहाँहरूले पहिलेभन्दा फरक किसिमले खाना बनाउने र खुवाउने तरिकाको जानकारी पाएको स्थानीय मनीषा गुरुङले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अब स्थानीय स्तरमा नै उत्पादन भएका वस्तुबाट बिहानको नास्ता, खाना, खाजा बनाएर खुवाउन सक्ने भएका छौँ ।” तालिममा घरेलु उत्पादनलाई कसरी मीठो र स्वादिलो बनाउन सकिन्छ, पाहुनाको रुचिअनुसार कसरी खानेकुरा बनाउन सकिन्छ, होमस्टेमा ध्यान दिनुपर्नेलगायतका विषयमा प्रशिक्षक प्रिन्स गुरुङले जानकारी गराउनुभयो । 

“पकाउन त आउँथ्यो, पकाइरहेका थियौँ, तर स्थानीय स्तरमा नै उत्पादित वस्तुको प्रयोग गरी अझै राम्रो गरी पकाउने तरिका जान्यौँ” होमस्टे सञ्चालक पुष्पा गुरुङले भन्नुभयो । वालिङ नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडीपी, र दियालो संस्थाको सहकार्यमा वालिङमा सञ्चालन भइरहेको हरित पुनः उत्थान कोभिड १९ र उद्धार प्रतिकार्य पहल परियोजना अन्तर्गत वातावरणमैत्री होमस्टे सञ्चालनका लागि भान्सा व्यवस्थापन तालिम सञ्चालन गरिएको थियो । तालिममा सहभागी २५ जनामध्ये २० जना महिला र पाँच जना पुरुष थिए ।

तालिममा खाद्यपदार्थ कसरी सफा गर्ने, स्थानीय उत्पादनलाई कसरी प्रयोग गर्ने, घर वरिपरि कसरी सफा राख्ने भन्नेबारेमा अभ्यास गरेर सिकाइएको प्रशिक्षक प्रिन्स गुरुङले जानकारी दिनुभयो । 

तालिममा होमस्टेमा आएका पाहुनालाई कसरी स्वागत–सत्कार गर्ने भनेर सिकाइएको गुरुङको भनाइ छ । पर्यटन व्यवसायकै एउटा माध्यम होमस्टे भएकाले यसले गाउँमै रोजगारी सिर्जना गरी आर्थिकस्तर उकास्न मद्दत पुग्ने अपेक्षा रहेको वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले बताउनुभयो । 

तालिममा कोदोको रोटी, आलुको चिप्स, सुन्तलाको जाम थिचेको आलु, लछा पराठा, रोटीको चिप्स, भुटेको आलु, काँचो मेवाको सलाद, काज्चीवा टिमुरको छोप, मकैको रोटी र चिप्स, गाजरको हल्वा, साँधेको मेवा लगायतका सामग्री बनाउन सिकाइएको प्रशिक्षक प्रिन्स गुरुङले जानकारी दिनुभयो ।

यसैबीच, सुन्तलाबारी होमस्टेलाई ईको होमस्टे र इको पर्यटनमा परिणत गरिने भएको छ ।

इको होमस्टेका लागि आवश्यक पर्ने पूर्वाधारहरू, वातावरणीय तयारी लगायतका कामहरू समेत भइरहेको साझेदार संस्था दियालोका अध्यक्ष सीता गैह्रे पङ्गेनीले जानकारी दिनुभयो । 

सिद्धार्थ राजमार्गको वालिङबाट झण्डै ४५ मिनेटमा होमस्टे पुग्न सकिन्छ । सो ठाउँमा पुग्ने बाटो कच्ची भए पनि यात्रा सहज छ । २०७० मा सुन्तला पर्यटनलाई जोड दिँदै सुन्तलाबारी होमस्टेको स्थापना गरिएको उपाध्यक्ष खेमराज गुरुङले जानकारी दिनुभयो ।