• ११ मंसिर २०८१, मङ्गलबार

प्रशासक श्रीमान्, श्रीमती करारमा नियुक्त

blog

प्रेमराज सिम्खडा

कालीकोट, पुस ६ गते । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले भागबन्डामा कर्मचारी भर्ती गरी बिनाकाम हाजिर गराएर तलब निकासा गरिरहेको रहस्योद्घाटन भएको छ। 

यस्तो भागबन्डामा खाँडाचक्र नगरपालिकाको प्रशासन शाखा प्रमुख अविराज शाहीले श्रीमतीलाई नियुक्ति दिइएको पाइएको छ।

यसअघिको स्थानीय तहले नियुक्ति गरेका कर्मचारीलाई सेवाबाट हटाइएको थियो। सोही रिक्त कर्मचारी कोटामा नियुक्त गरिएका कर्मचारीमध्ये केहीले तीन महिनाको हाजिर एकै पटक गरी बिनाकाम तलब बुझ्दै आएको बताइन्छ। नगरपालिकाका एक कर्मचारीका अनुसार कर्मचारीका आफन्तको खातामा तलब भुक्तानी हुने गरेको जानकारी आएको छ।

प्रशासन शाखा प्रमुख अविराज शाहीले २०७८ साल फागुन १ बाट तलब पाउने गरी सामाजिक परिचालक तह पाँचौँमा श्रीमती प्रगति ठकुरीलाई नियक्ति दिएका थिए। श्रीमती प्रगतिको नाममा नियुक्ति भए पनि हाजिर चाहिँ प्रमुख अविराजले लगाउँदै आएको पाइएको छ। 

जागिरको अन्तर्कथा

खाँडाचक्र नगरपालिकाको प्रशासन शाखा प्रमुखको जिम्मेवारीमा रहनुभएका अविराज शाहीले आफू निमित्त प्रमुख प्रशासकीय हुँदा सो कार्य गरेको जनाइएको छ। 

उहाँले नगरपालिकाले नियुक्ति गरेका १०३ जना कर्मचारीमध्ये ४१ जनाले मात्र काम गरेर तलब खाने गरेकाले मेरो पनि भाग चाहियो भनेर आफ्नो श्रीमतीलाई नियुक्त गरेको स्वीकार गर्नुभयो। 

अविराज शाहीले जसले जे भने पनि मेरी श्रीमती सामाजिक परिचालक भएकाले प्रायः गाउँमा जाने भएकाले कसैले देखेनन् तर हाजिर उनले आफैँ लगाउने गरेको र काममा पनि खटिने गरेको दाबी गर्नुभयो। उहाँले सो सम्बन्धमा अख्तियारमा उजुरी परेकोसमेत स्वीकार गर्नुभयो। यद्यपि ल्याबमा हाजिर परीक्षण गरी घटना पुष्टि गर्न उहाँले चुनौती दिनुभयो।

श्रीमती दक्ष भएरै नियुक्ति दिएको तर काम नगरी आफैँ हाजिर लगाएर श्रीमतीलाई जागिर खुवाएको होइन, त्यो कुरा गलत भएको उहाँले जिकिर गर्नुभयो। 

नगरपालिकाका एक कर्मचारीका अनुसार नगरका प्रमुख प्रशासकीय अधिकृत जसीप्रसाद चौलागार्इं माघ १२ गते बिदामा बसेको मौका छोपी १३ गते प्रशासन शाखा प्रमुख अविराज शाहीले भर्ना गरेका थिए। निमित्त भएको मौकामा कर्मचारी आवश्यकता भएको सूचना प्रकाशन गरी १४ गते आफैँले करार सम्झौता गरेर कागजी प्रक्रिया पूरा गरेको जनाइएको छ।

शाखा प्रमुख अविराज शाहीले भन्नुभयो, “फागुन १ गते श्रीमती नियुक्ति भएको हो। सात महिना मात्र जागिरमा राखेको हुँ तर अरूले वर्षौंसम्म तलबभत्ता खुवाएर राखेका छन्।”

जिल्ला प्रशासन स्रोतले भने प्रगति शाहीका बारेमा अनुसन्धान भइरहेकाले केही बोल्न नमिल्ने बताएको छ। अविराज शाहीले भने नगरप्रमुखको तोक आदेशमा आफ्नो श्रीमतीलाई नियुक्ति गरिएको दाबी गर्दै त्यहाँ कुनै पनि गैरकानुनी काम नभएको बताउनुभयो। 

लेखा शाखा प्रमुख धीरबहादुर शाहीले आफूलाई नियुक्तिपत्र आएकाले २०७८ फागुनदेखि २०७९ साल असोजसम्म आठ महिना तलब निकासा दिएको जानकारी दिनुभयो। नियुक्ति गडबड भएको सूचना कात्तिकमा पाएपछि तलब भुक्तानी रोकिएकोसमेत लेखा शाखा प्रमुख शाहीले बताउनुभयो।