• १२ साउन २०८१, शनिबार

खेलकुदलाई शिक्षासँग अलग गर्नु हुँदैन : अध्यक्ष बिजुक्छे

blog

भक्तपुरमा आयोजित कार्यक्रममा मन्तव्य राख्नुहुँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे । तस्बिरः रमेश गिरी, रासस

भक्तपुर, पुस ५ गते। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताउनुभएको छ। 

आजदेखि भक्तपुर नगरपालिकाले शहीद स्मृति खेल मैदानमा आयोजना गरेको ‘भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता’ उद्घाटन गर्दै उहाँले खेलकुद पनि शिक्षाको अभिन्न अङ्ग भएकाले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताउनुभएको हो। 

अध्यक्ष बिजुक्छेले भन्नुभयो, “खेलकुद क्षेत्रलाई राजनीतिसँग पनि अलग गर्नु हुँदैन, समाजवादी देश क्युवाले खेलकुदमा धेरै प्रगति गरेको उदाहरण हामी सामु छ। स्वास्थ्य, अनुशासन, देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति खेलाडी खेलकुदमा सहभागी हुनुपर्छ।” उहाँले विद्यालय तहदेखि नै विद्यार्थीलाई राम्रोसँग प्रशिक्षित गर्नसके राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसअवसरमा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले विद्यालय जीवनमा पढाइ सँगसँगै खेल र सिर्जनात्मक गतिविधि अत्यन्त महत्त्वपूर्ण रहने बताउँदै खेलकुद सर्वसाधारणका छोराछोरीको अधिकारको विषय बनाइनुपर्नेमा जोड दिनुभयो। उहाँले वास्तविक प्रजातन्त्र उपभोग गर्न शिक्षा, स्वास्थ्य र खेलकुदलाई विद्यार्थीको अधिकारको विषय बनाइनुपर्नेमा जोड दिनुभयो। 

कार्यक्रमका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी, रेफ्री तयार गर्ने भक्तपुर नपाको उद्देश्य रहेको बताउँदै खेलकुदमा भाग लिनु मनोरञ्जनको लागि मात्र नभई अनुशासन र मित्रताको लागि भएको उल्लेख गर्नुभयो। 

उहाँले खेलकुद विकासको लागि भक्तपुर नपा वडा नं ९ र ८ लिबालीमा खेलकुद कभर्ड हल निर्माण सम्पन्न भई चालु अवस्थामा रहेको बताउँदै हाल भनपा–१० मा बेखाल कभर्ड हल निर्माणाधीन अवस्थामा रहेको र माहेश्वरी खेलमैदान तथा शहीद स्मृति खेलमैदान निर्माण प्रक्रियामै रहेको बताउनुभयो।

नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा भलिबल, टेबुलटेनिस, उसु, पोर्टबल, कबड्डी, तेक्वाण्डो, कराँते, एथ्लेटिक्स, ब्याडमिन्टनरजिम्नास्टिक, फुटसल, खोखो, बुद्धिचाल, कसिमला पाँय् गरी १३ खेलका लागि प्रतिस्पर्धा हुने बताउनुभयो।

त्यसअघि आजै नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलकुद संस्थाका पदाधिकारी, विभिन्न बाजा टोली, नपाका कर्मचारीलगायतको सहभागितामा दत्तात्रयबाट सुरु भएको  र्‍याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो हुँदै शहीद स्मृति खेलमैदानमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो।रासस