हुम्ला समाचारदाता
हुम्ला, पुस ५ गते । हिमाली जिल्ला हुम्लावासीले काठेपुलबाट खोला र नदीको जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था अझै छ। ठाडाखोला तथा नदीमा झोलुङ्गे पुल निर्माण नहुँदा स्थानीयले आफ्नै प्रयासबाट निर्माण गरिएका काठेपुल तर्नुपर्ने बाध्यता छ। नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार लिमीमा अहिले पनि ११ वटा काठेपुलबाट स्थानीयले खोला तर्दै आइरहेका छन्।
लिमीका ती पुल स्थानीयले जनश्रमदानबाट निर्माण गरेका हुन्। केही वडाको बजेटबाट निर्माण गरिएका हुन्। उहाँका अनुसार लिमीमा मानिस र पशु हिँड्न काठेपुल चाहिन्छ। गाडी गुडाउन पनि काठेपुल नै निर्माण गरिएका छन्। यातायातका साधन काठेपुलमा ओहोरदोहोर गर्दा जोखिम भने उच्च हुन्छ।
नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले आफ्नो गाउँपालिकाकामा २५ भन्दा बढी काठेपुल स्थानीयले बनाएको जानकारी दिनुभयो। उहाँले स्थानीयको माग झोलुङ्गे पुल निर्माणको भए पनि कतैबाट पुल निर्माण हुन नसकेपछि बाध्य भएर स्थानीयले काठेपुल निर्माण गरिरहेको बताउनुभयो।
सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकायाले आफ्नो गाउँपालिकामा अहिले पनि १५ भन्दा बढी कोठेपुलको प्रयोग स्थानीयले गरिरहेको बताउनुभयो। काठेपुल तर्दा, खोला र नदीमा खसेर ज्यान गएका कैयौँ घटना भएको उहाँले उल्लेख गर्नुभयो।
खार्पुनाथ गाउँपालिकामा १७, सर्केगार्ड गाउँपालिकामा २३, चङ्खेली गाउँपालिकामा १९, अदानचुली गाउँपालिकामा ११ र ताँजाकोट गाउँपालिकामा १३ वटा काठेपुल छन्।
खार्पुनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले विशेष गरी खोला र खर्कहरूमा काठेपुलको निर्माण बढी हुने गरेको बताउनुभयो। उहाँले यी स्थानमा झोलुङ्गे पुल निर्माणका लागि पहल भइरहेको बताउनुभयो।