राजु लामिछाने
रुकुमपूर्व, पुस ५ गते । शहीदमार्ग सडक आयोजनाको निर्माण कार्य समयमै हुन नसकेपछि रुकुमपूर्वमा सञ्चालित सडक निर्माणको ठेक्का सम्झौता तोडिएको छ। सो योजना कार्यालय रोल्पाका योजना प्रमुख पवन भट्टराईले पटक–पटक थपेको समयसीमाभित्र निर्माण व्यवसायीले काम गर्न नसकेकाले ठेक्का अन्त्य गरिएको बताउनुभयो।
भूमे गाउँपालिका–२, काँक्रीदेखि पुथाउत्तरगङ्गा गाउँपालिका–१, मैकोटसम्मको ३८ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा श्री पप्पु–कोसी एन्ड न्यौपाने, जेभी निर्माण कम्पनीले लिएको थियो।
सडक विभागले पहिलो पटक २०७४ साल असार २२ गते उक्त निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। २०७६ साल पुस २८ गतेमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने गरी भएको करार सम्झौताअनुसार काम नभएपछि विभागले चार पटकसम्म म्याद थप गरेको हो। २०७९ साल असोज १८ गतेसम्म काम सक्नेगरी भएको अन्तिम सम्झौतामा पनि काम नभएकाले ठेक्का अन्त्य गर्नु परेको योजना कार्यालयले जनाएको छ। योजना प्रमुख भट्टराईका अनुसार ठेक्का सम्झौताका सर्तअनुसार निर्माण कम्पनीले काम नगरेकाले ठेक्का तोड्नुपरेको हो।
“निर्माण कम्पनीलाई कार्य सम्पन्न गर्न लिखित तथा मौखिक रूपमा अनुरोध गर्दा पनि काम भएन,” योजना प्रमुख भट्टराईले भन्नुभयो, “ठेक्का सम्झौताका सर्तबमोजिम करारीय दायित्व पूरा नगरेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ अनुसार ठेक्का अन्त्य गर्ने निर्णय भएको हो।”
निर्माण कम्पनीबाटै सिर्जना भएको समस्याका कारण ठेक्का अन्त्य भएको हो। शहीदमार्ग सडक योजनाअन्तर्गतका दुई सडकखण्ड निर्माणका लागि श्री पप्पु–कोसी एन्ड न्यौपाने–जेभी निर्माण कम्पनीले जिम्मा लिएको थियो। उक्त निर्माण कम्पनीले काँक्रीदेखि बिरगुम र ओख्मादेखि हुकामसम्मको सडक निर्माणको ठेक्का लिएको थियो।