बनेपा समाचारदाता
बनेपा, पुस ५ गते । काभ्रेपलाञ्चोक जिल्लाबाट चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि दुई हजार ५३९ जना विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि मङ्सिर महिनासम्ममा इजाजतप्राप्त संस्थाहरूबाट श्रम स्वीकृति लिएर एक हजार ५६० पुरुष र ५४२ महिला गरी कुल दुई हजार १०२ जना वैदेशिक रोजगारीमा गएका छन् ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका कार्यक्रम संयोजक वसन्त कुँवरले पछिल्लो समय जिल्लाबाट रोजगारीका लागि विदेशिने नागरिक बढेको बताउनुभयो । उहाँले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर २४९ पुरुष र १०२ महिला गरी ३५१ जना व्यक्तिगत स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका बताउनुभयो ।
यसैगरी नेपाल सरकार र कोरिया सरकारबीच भएको सम्झौताअनुसार ७१ पुरुष र १५ महिला गरी कुल ८६ जना रोजगारीका लागि दक्षिण कोरिया गएका छन् । यस्तै अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा काभ्रेपलाञ्चोकबाट तीन हजार ८९५ जना पुरुष र एक हजार ९७१ महिला गरी कुल पाँच हजार ८६६ जना वैदेशिक रोजगारीमा गएका थिए । विभागको तथ्याङ्कअनुसार अघिल्लो आवमा तीन हजार ६३३ पुरुष र एक हजार ३८० महिला इजाजतप्राप्त संस्थाबाट श्रम स्वीकृति लिएर एवं २६२ पुरुष र ५९१ महिला व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । वैदेशिक रोजगारीमा जाने देशका ७७ जिल्लामध्ये काभ्रेपलाञ्चोक जिल्ला २२औँ स्थानमा रहको कार्यक्रम संयोजक कुँवरले बताउनुभयो । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार काभ्रेका १९ हजार ५७६ जना परिवारमा अनुपस्थित (अक्सर विदेशमा बसोबास) छन् ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका र रोशी गाउँपालिकामा सञ्चालनमा रहेको छ ।