गोरखापत्र अनलाइन
काठमाडौं, पुस ४ गते । गाउँपालिका राष्ट्रिय महासंघको नवनिर्वाचित नेतृत्वले स्थानीय शासनलाई अझ सबल बनाउन गोरखापत्र संस्थानसँग सहकार्य गरेर जाने तत्परता देखाएको छ । संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले उहाँहरूको सम्मानमा आज संस्थानमा आयोजना गर्नुभएको कार्यक्रममा महासंघका अध्यक्ष लक्ष्मी पाण्डे र कोषाध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ ले सो तत्परता देखाउनु भएको हो ।
अध्यक्ष पाण्डेले स्थानीय तहलाई अझ सबल र प्रभावकारी बनाउन आमसञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । चौथो अङ्ग भनेकै गोरखापत्र हो भन्नेजस्तो छाप परेको चर्चा गर्दै देशकै जेठो अखबार गोरखापत्र र अन्य प्रकाशनबाट प्रवाह गरिने समाचार तथा सूचनाले जनतामा सकारात्मक भावनाको विकासमा सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । महासंघको आगामी बैठकमा संस्थानसँग सहकार्य र समन्वयका लागि छलफल गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
गाउँपालिका राष्ट्रिय महासंघका नवनिर्वाचित कोषाध्यक्ष भट्टलाई गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदी (दायाँ) र महाप्रबन्धक ऐरीले मायाको चिनो प्रदान गर्नुहुँदै ।
यसैगरी, महासंघका कोषाध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ ले सरकारी संरचनाहरू बलियो भएमा मात्रै जनताले पाउने सेवा अझ प्रभावकारी हुनेछन् भन्दै गाउँपालिकाहरूको छाता सङ्गठन गाउँपालिका राष्ट्रिय महासंघ गोरखापत्र संस्थानसँग सहकार्य, सहजीकरण र समन्वय गर्न तत्पर छ भन्नुभयो ।
संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले स्थानीय सरकार बलियो हुनुपर्छ र स्थानीय शासन प्रणालीलाई सबल, सक्षम र अझ प्रभावकारी बनाउन संस्थान सबै प्रकारका सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । गोरखापत्र संस्थानले स्थानीय शासनलाई सुदृढ बनाउन आफ्ना प्रकाशनमा राम्रो स्थान दिन चाहन्छ, त्यसका लागि महासंघले पुलको कार्य गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
यसैगरी, संस्थानका महाप्रबन्धक ऐरीले स्थानीय तहका सूचना प्रवाहलाई सहजीकरण गर्न नयाँ नेतृत्वसँग संस्थान इच्छुक रहेको धारणा राख्नुहुँदै स्थानीय तहले गरेको राम्रा विकास प्रयासलाई राष्ट्रिय विकासमा जोड्न संस्थानका प्रकाशनहरू तयार रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थानका अध्यक्ष सुवेदी र महाप्रबन्धक ऐरीले नवनिर्वाचित पदाधिकारीलाई बधाई र सफल कार्यकालको शुभकामना दिनुहुँदै गोरखापत्रको पहिलो अङ्क प्रदान गरेर अध्यक्ष पाण्डे र कोषाध्यक्ष भट्टलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, द राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलियालगायत संस्थानका प्रकाशनका प्रमुख तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो ।