प्रेमराज सिम्खडा
कालीकोट, पुस ४ गते । गत असोजमा परेको पानीवाट प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । लगातार पाँच दिनसम्म परेको पानीका कारण आएको बाढी र पहिरोमा परेर ज्यान गुमाएका, घर क्षति भएका परिवारलाई गैरसरकारी संस्था किर्डाक नेपालले राहत वितरण गरेको हो ।
संस्थाद्वारा सञ्चालित विभिन्न कार्यक्रमबाट बजेटको व्यवस्थापन गरेर किर्डाकले कालीकोटका तीन सय ४० परिवारसहित जुम्ला र मुगुसहितका गरी जम्मा नौ सय ४० बाढी प्रभावित परिवारलाई जनही १३ हजार पाँच सयका दरले राहत वितरण गरेको छ ।
किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले संस्थामा कार्यरत कर्मचारीका साथै विभिन्न कार्यक्रमबाट बजेट व्यवस्थापन गरेर कालीकोटका तीन सय ४० घर परिवार, जुम्ला र मुगुका छ सय घरपरिवारसहित जम्मा नौ सय ४० घर परिवारलाई जनही १३ हजार पाँच सयका दरले एक करोड, २६ लाख ९० हजारको खाद्यान्न, लुगा कपडा प्रदान गरिएको बताउनुभयो ।
कालीकोटको खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जसीप्रसाद चौलागाईँले आफ्नो नगरपालिका भित्रका एक सय ४० जनालाई राहत उपलब्ध गराएकोमा किर्डाकलाई धन्यावाद दिनुभयो ।
कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले निर्वाचनताका एकद्वार प्रणाली जिल्ला प्रशासनबाट राहत वितरण गरिए पनि निर्वाचनपछि भने स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको बताउनुभयो ।