• १२ मंसिर २०८१, बुधबार

लोप हुँदै परम्परागत प्रविधि

blog

लीलाधर वली 

घोराही, पुस ४ गते  ।  घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी केही वर्षअघिसम्म ढिकीमा धान, गहुँ, जौ र बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पिठो पिस्ने काम गर्नुहुन्थ्यो । यसरी पिसेको पिठोबाट बनाएको खाने परिकार स्वादिलो हुने गर्दथ्यो । पूजाआजामा चढाउन तथा चोखो शुद्ध परिकार बनाउनका लागि समेत ढिकीमा कुट्नेदेखि जाँतोमा पिठो पिस्ने गर्नुहुन्थ्यो । 

तर, पछिल्लो समय गाउँमा विद्युत् पुगेसँगै धान कुट्न, तेल पेल्नदेखि पिठो पिस्नका लागि ढिकी तथा जाँतोको विकल्पमा मिलहरू स्थापना भएका छन् । ढिकी तथा जाँतो र ओखलहरू देखिन छोडेको डाँगी बताउनुहुन्छ ।“पहिले घरमै कुट्नलाई ढिकी र पिस्नलाई जाँतो थियो तर अहिले छैनन्,” उहाँले भन्नुभयो्, “धान कुट्नेदेखि पिसाउनेसम्म प्रायः सबै काम मिलमै गर्ने गरेका छौँ ।”

भौगोलिक रूपमा विकट र बत्ती पुग्न नसकेका गाउँहरूमा विद्युत् पुगेसँगै परम्परागत रूपमा रहेका ढिकी तथा जाँतो हराइसकेको घर्तीमगर बताउनुहुन्छ । “पहिले गाउँका सबैजसो घरमा ढिकी र जाँतो हुन्थ्यो । त्यसमै कुटानी तथा पिस्ने काम हुन्थ्यो,” घर्तीमगरले भन्नुभयो, “ढिकीमा कुटेको र जाँतोमा पिसेको खाद्यान्न सामग्री पोसिलो अनि स्वादिलो पनि हुन्थ्यो ।”  ढिकी र जाँतोमा नकुटी नहुने बेसार, गहुँ, जौसँगै चिउरीको तेल पेल्नका लागि पछिल्लो समय कहीँकतै मात्रै ढिकी देखिने गरेको उहाँको भनाइ छ ।